काठमाडौं– एनएमबि लघुवित्तले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा ४ करोड ९० लाख रूपैयाँ खुद नाफा कमाएको वित्तीयविवरण सार्वजानिक गरेको छ । गत आर्थिक वर्षको यसै अवधिसम्ममा १ करोड ३ लाख रूपैयाँमात्र खुद नाफा कमाएको लघुवित्तले चालु आर्थिक वर्षको सोहि अवधिमा ३ करोड ८७ लाख रूपैयाँले बढाएको हो । लघुवित्तको प्रतिशेयर आम्दानी ४६ रूपैयाँ ६० पैसा पुगेको छ । जुन आम्दानी गत वर्षको यसै अवधिको तुलनामा ३३ रूपैयाँ ८६ पैसाले वृद्धि भएको छ ।
लघुवित्तको खुद ब्याज आम्दानी र सञ्चालन नाफा बढ्नुका साथै खराब कर्जा उठाउन सफल भएका कारण खुदनाफा बढेको हो । यस अवधिमा लघुवित्तले १३ करोड ६७ लाख रूपैयाँ खुद ब्याज आम्दानी गरेको छ भने ४ करोड ८१ लाख रूपैयाँ सञ्चालन नाफा गरेको छ । समीक्षाअवधिमा लघुवित्तले १ अर्ब ३१ करोड रूपैयाँ निक्षेप संकलन र २ अर्ब ४७ करोड रूपैयाँ बराबरको सापटीमार्फत ३ अर्ब ४७ करोड रूपैयाँ कर्जा लगानी गरेको छ । लघुवित्तको प्रतिशेयर नेटवर्थ १८३ रूपैयाँ ५२ पैसा र मूल्य आम्दानी अनुपात १७.१७ गुणा रहेको छ ।