काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत पाएको छ ।
प्रतिनिधि सभाको मंगलबारको बैठकमा प्रधानमन्त्रीले राखेकाे विश्वासको मतको पक्षमा बहुमत परेको बैठकको अध्यक्षता गरेका ज्येष्ठ सदस्य पशुपति शम्शेर जबराले घोषणा गरेका हुन् ।
प्रधानमन्त्रीको पक्षमा २६८ परेको छ भने विपक्षमा २ जनाले मतदान गरेका छन् ।मतदानमा २७० उपस्थित भएका थिए ।
प्रधानमन्त्री दाहाललाई संसदको सबैभन्दा ठूलो दल नेपाली कांग्रेस, एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा, जसपा, लोसपा, जनमत लगायतका दलले मत दिएका छन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीले पुस ११ गते नेपालको संविधानको धारा ७६ को उपधारा (२) बमोजिम दाहाललाई नेपालको प्रधानमन्त्री पदमा नियुक्त गरेका थिए ।
दाहाल यसअघि २०६५ साउनदेखि २०६६ वैशाख २१ गतेसम्म र २०७३ साउन १९ देखि २०७४ जेठ २३ गतेसम्म प्रधानमन्त्री भएका थिए ।
प्रकाशित मिति: बुधबार, पुस २७, २०७९ ०७:३२