धनगढी — मनकामना युवा क्लबले भीडब्लु प्रदेश स्तरीय महिला तथा पुरुष फुटबल प्रतियोगिताको पुरुषतर्फ विजयी सुरुवात गरेको छ । धनगढीमा जुगेडामा शनिबार भएको उद्घाटन खेलमा मनकामनाले गौरीगंगा–११ लाई ७–० को फराकिलो अन्तरले हराएको हो । मनकामनाको जितमा कृजल श्रेष्ठले ह्याट्रिकसहित ५ गोल गरे भने सुरेश खत्रीले एक गोल गरे । एक गोल भने गौरीगंगाले आत्मघाती गरेको थियो ।
दोस्रो खेलमा फारवेष्ट पशुपति युवा क्लबले नमुना युवा क्लबमाथि १–० को रोमाञ्चक जित हात पारेको छ । अतिरिक्त समय आधा मिनेट बाँकी रहँदा रोशन खातीले निर्णायक गोल गर्दै आफ्नो टीमलाई जिताए । जितसँगै मनकामना र फारवेष्ट प्रतियोगिताको क्वाटरफाईनल पुगेका छन् ।
प्रतियोगिता अन्तर्गत आईतबार पनि पुरुषतर्फका दुई खेल हुनेछ । पहिलो खेलमा स्टार सिटी क्लब र दुर्गालक्ष्मी तथा दोस्रो खेलमा हसनपुर युवा क्लब र धनगढी युवा क्लब प्रतिस्पर्धा गर्ने प्रतियोगिताका संयोजक सुशिल मगरले जानकारी दिए ।
२० गतेसम्म सञ्चालन हुने भिडब्लु प्रदेश स्तरीय महिला तथा पुरुष फुटबल प्रतियोगितामा महिलातर्फका खेल भने माघ १७ गतेदेखि सुरु हुने आयोजक मनकामना युवा क्लबले जनाएको छ । प्रतियोगितामा पुरुष तर्फ १६ र महिला तर्फ ७ टीमले सहभागीता जनाएका छन् ।
प्रतियोगिताको पुरुष तर्फको विजेताले ७५ हजार तथा उपविजेताले ४१ हजार पाउने छन् । महिलातर्फको विजेताले २० हजार तथा उपविजेतालाई १० हजार पाउने छन् ।