विराटनगर– प्रदेश १ मा सभामुखको निर्वाचन आज बिहिबार हुँदैछ । सभामुखका लागि माओवादी केन्द्रका सांसद बाबुराम गौतमको मात्रै उम्मेदवारी परेको छ । प्रदेश सभा सचिवालयका अनुसार सभामुखको निर्वाचनका लागि आज बस्ने बैठकले उनलाई सभामुखको निर्वाचित भएको घोषणा गर्ने छ । प्रस्तावक र समर्थकले समर्थन रहेको जनाएपछि ज्येष्ठ सदस्य गयानन्द मण्डलले एकल उम्मेदवार परेकाले निर्विरोध निर्वाचित भएको घोषणा गर्ने छन् ।
माओवादी उम्मेदवार गौतमलाई सत्ता पक्ष र प्रतिपक्षी दलको पनि समर्थन छ ।माओवादी केन्द्रका केन्द्रीय सदस्य गौतम ओखलढुङ्गाको प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर २ बाट प्रत्यक्ष निर्वाचित भएका थिए । प्रदेश १ को पहिलो कार्यकालमा एमाले सांसद प्रदीपकुमार भण्डारी सभामुख बनेका थिए । दोस्रो कार्यकालमा गौतम बन्नेछन् ।
सभामुख गौतमले आजै शपथ लिनेछन् । संसद् सचिवालयका प्रमुख गोपाल पराजुलिका अनुसार १ बजे शपथ ग्रहण गर्ने छन् । उनलाई प्रदेश प्रमुख परशुराम खापुङले शपथ गराउने छन् ।
केन्द्रीय नेतृत्वले संघीय सरकारसहित सबै प्रदेशमा आलोपालो हुने भन्दै सरकारका सहभागी हुन निर्देशन दिएपछि माओवादी केन्द्र आज सरकारमा सहभागी हुने तयारीमा छ ।
प्रकाशित मिति: बिहीबार, पुस २८, २०७९ ११:४७