गोरखा–गण्डकी प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री लेखबहादुर थापा मगरले विकासको पहिलो आधार शिक्षा भएको बताएका छन् ।
जिल्लाको भीमसेन थापा गाउँपालिका–५ वगुवा स्थित शान्ति माध्यमिक विद्यालयको ४० औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै मन्त्री थापाले सो कुरा बताएका हुन् । शिक्षालाई व्यावसायिक रूपमा अघि बढाउन प्रदेश सरकार लागि परेको उनले बताए । भीमसेन थापा गाउँपालिका शिक्षाको उर्वरभूमी रहेको बताउँदै यस क्षेत्रको शिक्षा देशमा नै प्रशंसा गर्न योग्य रहेको बताए । शिक्षक, अभिभावक र विद्यार्थीहरूको अथक मेहनत नै सफल शिक्षाका आधार भएको उनको भनाई थियो ।
शिक्षालाई कृषिउन्मुख र वालमैत्री बनाउनुपर्नेमा उनले जोड दिए । जिल्लामा प्राविधिक धारको शिक्षाको विकासका लागि आफूले सकेको सहयोग गर्ने उनले बताए ।
कार्यक्रममा भीमसेन थापा गाउँपालिकाका अध्यक्ष इश्वर पाण्डेले शान्ति मा.वि.को शिक्षाको विकास लागि गाउँपालिकाबाट गर्न सक्ने सम्पूर्ण सहयोग उपलब्ध गराउने बताए । शिक्षाको विकाससँगै अरु विकास अघि बढ्ने भएकाले आफूले शिक्षामा विशेष जोड दिएको उनले बताए । कार्यक्रममा नेपाल शिक्षक महासंघका गोरखा जिल्ला अध्यक्ष धु्रव भट्टले संघ, प्रदेश र स्थानीय सरकारले शिक्षाका समस्याहरूलाई मिहिन ढंगले अध्ययन गरी समस्याको समाधान तर्फ जानुपर्ने बताए । वडा अध्यक्ष एवं विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रेमचन्द्र श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालयका प्रधानाध्यापक सुनिल खनालले विद्यालयको प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रममा विभिन्न २६ वटा विधामा भएका खेलकुद र सांस्कृतिक कार्यक्रममा उत्कृष्ट हुने छात्रछात्राहरूलाई प्रमाणपत्र र पुरस्कार सहित सम्मान गरिएको थियो ।