काठमाडौं– नाबालिका बलात्कारको आरोप लागेका क्रिकेटर सन्दीप लामिछाने थुनामुक्त भएका छन् । उनलाई हाजिर गर्न कारागारबाट जिल्ला अदालत काठमाडौं लगिने जेलर लक्ष्मीप्रसाद बाँस्कोटाले बताए ।
लामिछानेलाई विभिन्न सर्तसहित २० लाख रूपैयाँ धरौटी लिएर छाड्न बिहीबार उच्च अदालत, पाटनले आदेश दिएको थियो । उक्त निर्णय बमोजिम लामिछाने शुक्रबार थुनामुक्त भएका हुन् ।
गत कात्तिक १६ मा जिल्ला अदालत काठमाडौंमा लामिछानेविरुद्ध परेको मुद्दामा थुनछेक बहस सुरु भएको थियो । लामिछानेका कानुन व्यवसायीले किशोरी नाबालिग नरहेको जिकिर गर्दै आएका थिए ।
लामिछानेमाथि नाबालिग किशोरीलाई बलात्कार गरेको आरोपमा गत कात्तिक १४ मा काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरिएको थियो । सरकारी वकिल कार्यालयले दर्ता गरेको मुद्दामा लामिछानेलाई १० देखि १२ वर्षसम्म कैद सजाय हुनुपर्ने मागसमेत गरिएको थियो ।
लामिछानेले भने आफूविरुद्ध लागेको बलात्कार आरोप अस्वीकार गर्दै आफू निर्दोष रहेको र बलात्कार नगरेको बयान दिएका थिए । लामिछाने गत असोज २० मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै प्रक्राउ परेका थिए ।
प्रकाशित मिति: शुक्रबार, पुस २९, २०७९ १४:०३