काठमाडाैं - नेपाल राष्ट्र बैंकले विदेशमा पैसा लैजानका लागि थप कडाइ गरेको छ । बैंकले आज शुक्रबार सूचना निकालेर विदेशमा कानुनले तोकेबाहेक कुनै पनि प्रकारको लगानी नगर्न आग्रह गरेको छ ।
पछिल्ला दिनमा नेपाली नागरिकले विदेशका विभिन्न क्षेत्रमा लगानी गरिरहेको भन्ने आशयका समाचार एवम् विवरण सार्वजनिक भएपछि बैंकले विदेशमा पैसा नलैजान सचेत गराएको हो ।
विदेशमा घर जग्गा, धितोपत्र, सम्पत्ति खरिद गर्न, विदेशी बैंक तथा वित्तीय संस्थामा निक्षेप जम्मालगायतका पुँजीगत प्रकृतिका कारोबार नगर्न सूचनामा उल्लेख छ ।
बैंकले तोकिदिएको व्यवस्था बमोजिमबाहेक विदेशमा भुक्तानी हुनेसम्बन्धी कार्य नगर्न/नगराउन ध्यानाकर्षण गराएको छ । त्यस्तो कार्य गर्ने गराएको पाइएमा प्रचलित कानुन बमोजिम कारबाही गर्ने सूचनामा उल्लेख छ ।
विदेशी विनिमय (नियमित गर्ने) ऐन २०१९ को दफा १२ ले दिएको अधिकार प्रयोग गरी बैंकले सूचना प्रकाशित गरेको हो । नेपालमा बसोवास गर्ने कुनै पनि व्यक्तिले कुनै पनि प्रकारको विदेशमा लगानी गर्न नपाउने बैंकले जनाएको छ ।