काठमाडौं– थाइल्याण्डको बैंककमा आयोजित एक कार्यक्रममा अभिनेता सबिन श्रेष्ठ ‘एक्टर्स अफ इयर’बाट अवार्डडेड भएका छन् । नेपालको आदिबासी जनजाति फिल्म प्रबद्र्धन गर्ने उद्देश्यसहित ‘ज्योमो गाङ फिल्म अवार्ड’ कार्यक्रममा उनलाई यो अवार्ड प्रदान गरिएको हो ।
‘नेपाल भ्रमण बर्ष–२०२०’समेत लक्षित गर्दै विश्वको पर्यटकीय मुलुक थाईल्याण्डमा हुकुम मल्टिमिडिया प्रा.लिले आयोजना गरेको अवार्ड कार्यक्रममा विभिन्न कलाकारलाई अवार्ड दिइएको छ । निर्माता ज्योतिराज राई, पुष्कर लामा र अभिनेत्री छुल्ठिम गुरुङ निर्णायक रहेको अवार्डमा उत्कृष्ट चलचित्रतर्फ ‘खै ओ मिथेबा’, निर्देशकतर्फ ‘भेडी गोठाले’बाट गणेश गरुङ र उत्कृष्ट अभिनेतातर्फ चलचित्र ‘देन्बा माया’बाट अमिर दोङले अवार्ड पाए ।
त्यस्तै, उत्कृष्ट अभिनेत्री चलचित्र ‘छार ग्यालाम’बाट सुनिता लुम्बा, खलपात्रतर्फ चलचित्र ‘ल्हुइ ह्रो’बाट ध्रुबसिंह तामाङ, नव अभिनेतातर्फ चलचित्र ‘मोङा डोङा–२’ बाट यमन माझी र उत्कृष्ट नवअभिनेत्री चलचित्र ‘यारी’बाट ज्योती राइले अवार्ड पाए ।
यस्तै, सहअभिनेता ‘घ्रान’बाट राम घिसिङ, सहअभिनेत्री ‘ल्हुई ह्रो’बाट सन्चकुमारी तामाङ, नवनिर्देशक ‘मारक्यु’बाट दिनेश गुरुङ, र सम्पादन चलचित्र ‘निप्हुगाल’बाट सर्वमान शाक्यले अवार्ड पाएका छन् । कार्यक्रम आदिवासी चलचित्र अवार्ड भनिएपनि अधिकांश तामाङ चलचित्र सहभागी थिए । कार्यक्रममा उत्कृष्ट पाश्र्वसगीत ‘म्ये क्यु’बाट शिव सुनुवार मुखिया र बालकलाकार ‘क्युई’बाट कुङगा छ्योइङ स्याङतान तामाङलाई अवार्ड प्रदान गरिएको छ ।
थाइल्याण्डको द सिसन होटलमा सम्पन्न अवार्ड कार्यक्रममा बोल्दै आदिवासी जनजाति चलचित्र महासंघका अध्यक्ष अमृतबहादुर सुनुवारले नेपालको मौलिकपन आदिबासी जनजाति चलचित्रमा रहेकाले देशविदेशमा प्रवद्र्धन गर्न आवश्यक रहेको बताए । उनले आदिबासी जनजाति चलचित्रलाई प्रवद्र्धन गर्न यस्ता अवार्डले सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
त्यस्तै कार्यक्रममा आयोजक संस्थाका अध्यक्ष डिबी बम्जन, नेपाल चलचित्र प्राविधिक संघका अध्यक्ष पुष्कर लामा, युरो एसिया ग्लोबलका प्रबन्ध निर्देशक सुमन अधिकारी, आदिबासी जनजाति चलचित्र महासंघका महासचिब पुर्खाजित राईलगायत आदिवासी चलचित्रको प्रवद्र्धन र सम्वद्र्धनबारे आफ्नो धारणा राखेका थिए ।