काठमाडौं– दक्षिण कोरियामा राष्ट्रिय गीतका रचनाकार ब्याकुल माइलालाई नागरिक अभिनन्दन तथा सम्मान गरिएको छ । ओलढुंगा सेवा समाज, दक्षिण कोरियाले कोरियन पर्व सलनालको अवसरमा शनिबार आयोजना गरेको विशेष सांगीतिक कार्यक्रममा ब्याकुल माइलालाई सम्मान गरिएको हो । उनलाई दक्षिण कोरियास्थित नेपाल एम्बेसीले सम्मान गरेको हो ।
सम्मान ग्रहणपछि ब्याकुलले हरेकपटक राष्ट्रिय गीत बज्दा शहिदहरूलाई स्मरण गर्ने सुनाए । उनले भने, ‘विर शहिदहरूकै देनले देशमा गणतन्त्र आएको छ । उहाँहरूलाई मेरो सम्मान छ ।’
साथै, उनले दक्षिण कोरियामा कार्यरत नेपालीहरूले सिकेको शिप र ज्ञानले नेपाललाई नै फाइदा हुने बताउँदै भने, ‘यहाँ सिकेको शिप, ज्ञान र यहाँको कानुन सिकेर नेपाल निर्माणमा सदुपयोग गर्न सकिन्छ ।’
कार्यक्रम चर्चित नेपाली रक ब्याण्ड ‘१९७४ एडी’ले विशेष सांगीतिक प्रस्तुती पस्केको थियो । शनिबार सम्पन्न कार्यक्रममा १९७४ एडीसँगै सांगीतिक रियालिटी शो ‘द भ्वाइस अफ नेपाल–२’ बाट चर्चामा आएकी गायिका अञ्जु राना मगरलगायतका कलाकारले प्रस्तुती दिएका थिए ।
कार्यक्रम ओखलढुंगा जिल्लाको गरिब तथा असाहयहरूलाई शिक्षा र स्वास्थ्यमा सहयोग गर्ने उद्देश्यले आयोजना गरिएको आयोजकले जनाएको छ । कार्यक्रममा नेपाल भ्रमण वर्ष–२०२० को समेत प्रचार गरिएको थियो ।