मुलुकको अर्थतन्त्रमा सुधारको संकेत देखिएको छ । लगातार नकारात्मक बन्दै गएको अर्थतन्त्रका सूचकहरुमा पछिल्लो समय क्रमशः सुधार देखिएको छ । नेपाल राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०७९÷८० को पाँच महिनाको विवरणमा थप सुधार देखिएको हो ।
राष्ट्र बैंकको प्रतिवेदनमा विदेशी विनिमय सञ्चिति, सोधनान्तर स्थिति, चालु खाता घाटालगायतमा उल्लेख्य सुधार आएको उल्लेख गरिएको छ । यसले मुलुकको अर्थतन्त्रमा बाह्य दबाब घट्दै गएको संकेत गर्दछ । बाह्य दबाब बढ्दा समग्र अर्थतन्त्रमा समस्या पार्ने गर्दछ ।
सरकारले बाह्य दबाब कम गर्न आयातमा प्रतिबन्धदेखि विभिन्न नीति लिएको थियो, जसको प्रभाव सकारात्मक देखिएको छ । समीक्षा अवधिमा व्यापार घाटा १८.८ प्रतिशतले घट्न पुगेको छ । साथै, विप्रेषण (रेमिट्यान्स) आप्रवाहमा उल्लेख्य सुधार आएको तथा मूल्यवृद्धि नियन्त्रणउन्मुख रहेको राष्ट्र बैंकको प्रतिवेदनमा छ ।
प्रतिवेदनअनुसार समीक्षा अवधिमा विदेशी विनिमय सञ्चिति १२ खर्ब ९२ अर्ब रुपैयाँ पुगेको छ । यो रकम गत असार मसान्तको तुलनामा ६.३ प्रतिशतले बढी हो । चालु खाता घाटा ३७ अर्ब ९१ करोड रुपैयाँ कायम भएको छ । शोधनान्तर स्थिति ४५ अर्ब ८७ करोडले बचतमा छ । विप्रेषण (रेमिट्यान्स) आप्रवाह चार खर्ब ८० अर्ब ५० करोड रुपैयाँ पुगेको छ । मंसिर महिनामा मात्रै एक खर्बभन्दा बढी रेमिट्यान्स भित्रिएको छ ।
मंसिर मसान्तमा उपभोक्ता मुद्रास्फिति ७.३८ प्रतिशत कायम भएको छ । जबकि, कात्तिकमा यस्तो मुद्रास्फिति ८.०८ प्रतिशत पुगेको थियो । व्यापार घाटा १८.८ प्रतिशतले न्यून भएको छ । विस्तृत मुद्राप्रदाय १.९ प्रतिशतले बढेको छ । बैंक तथा वित्तीय संस्थाको निक्षेप २.२ प्रतिशत र निजी क्षेत्रमा प्रवाहित कर्जा १.६ प्रतिशतले बढेको तथ्यांक छ ।
उपरोक्त तथ्यांकले मुलुकको अर्थतन्त्रमा सुधारको आशा जगाएको छ । विश्वव्यापी बनेको कोरोना महामारीका कारण थलिएको अर्थतन्त्र विस्तारै उठ्न लाग्दा रुस–युक्रेन युद्धलगायत कारणले पुनः समस्यातर्फ उन्मुख बनेको थियो । पछिल्लो समय यसमा सुधार देखिनुलाई सकारात्मकरुपमा लिनुपर्छ । तर, अझै पनि अर्थतन्त्रको संकट टरेको छैन ।
चालु आर्थिक वर्षमा लक्ष्यअनुसार राजस्व संकलन गर्न नसक्दा चालु खर्च व्यवस्थापनमै सरकारलाई दबाब परिरहेको छ । चालु खर्च भने लगातार बढिरहेको छ । पुँजीगत खर्चमा सुधार ल्याउन सरकारले सकेको छैन । अर्थतन्त्र अझै पनि विभिन्न समस्याहरुमा जेलिएको अवस्था छ ।त्यसैले अहिले नै अर्थतन्त्र संकटबाट मुक्त भइसक्यो भनेर ढुक्क हुने अवस्था छैन । भर्खरै गठन भएको नयाँ सरकारले अर्थतन्त्रको सुधारलाई मूल एजेण्डा बनाएको छ । त्यही लक्ष्यमा सरकारले आफ्नो कार्यक्रम केन्द्रित गर्न जरुरी छ ।
यो लक्ष्यमा पुग्न स्थिर सरकारको खाँचो छ । त्यसैले सत्ता गठबन्धनमा रहेका दलहरु सरकार परिवर्तनको खेलमा नलागी मुलुकको अवस्था सुधारमा गम्भीर हुन जरुरी छ । अर्थतन्त्रमा पछिल्लो समय देखिएको सुधारलाई निरन्तरता दिन सरकारले प्रतिबद्धताका साथ काम गर्नुपर्छ । अन्यथा पुनः संकट दोहोरिने निश्चित छ ।
प्रकाशित मिति: आइतबार, माघ १, २०७९ १२:४१