काठमाडौँ – प्रतिनिधिसभामा प्रमुख विपक्षी दल नेपाली काँग्रेसले डरलाग्दो महामारीको रुपमा फैलँदै गएको कोरोना भाइरसबाट नेपाललाई बचाउनुपर्ने कुरामा जोड दिएको छ । प्रमुख सचेतक बालकृष्ण खाँणद्वारा आज जारी विज्ञप्तिमा भनिएको छ – नेपाल पनि यो रोगको उच्च जोखिममा रहेको छ, यसबाट नेपालीको सुरक्षाका लागि गम्भीरतापूर्वक आवश्यक व्यवस्थापन गर्न नेपाली काँग्रेस सरकारसँग माग गर्दछ । चीनको हुबई प्रान्तको राजधानी उहानबाट फैलन शुरु भएको कोरोना भाइरस अमेरिका, थाइल्यान्डसमेत आधा दर्जन मुलुकमा फैलिसकेकोे छ । चीनको उहान शहरमा विभिन्न विश्वविद्यालय, शिक्षण संस्थामा अध्ययनरत नेपाली विद्यार्थी र त्यहाँ रहेका नेपाली व्यवसायीसमेत जोखिममा रहेकाले उनीहरुलाई सुरक्षित तरिकाले शीघ्र उद्धारका लागि आवश्यक व्यवस्था गर्न काँग्रेस संसदीय दलले आग्रह गरेको छ । नेपालमा पनि “महामारीका रुपमा फैलन सक्ने कोराना भाइरस फैलन नदिन आवश्यक सुरक्षा व्यवस्था तथा सङ्क्रमित व्यक्तिको उचित उपचारको व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराउँछौँ”, खाँणको वक्तव्यमा भनिएको छ ।