मुलुकले फेरि एउटा भयानक दुर्घटना बेहोर्नुपरेको छ । आइतबार पोखरामा यती एयरलाइन्सको विमान दुर्घटना भएको छ । काठमाडौंबाट बिहान १०ः३३ बजे पोखराका लागि उडेको यती एयरलाइन्सको एटिआर–७२ विमान दुर्घटनामा परेको हो ।
चालक दलका चारसहित ७२ जना यात्रु लिएर पोखरा गएको उक्त विमान करिब ११ बजेतिर पोखराको घारीपाटन नजिक सेती खोँचमा दुर्घटना भएको थियो । आइतबार साँझसम्म ६८ जनाको शव निकालिएको छ । बाँकीको खोजी कार्य जारी छ ।
मानवीय क्षतिको हिसाबले आइतबार पोखरामा यती एयरलाइन्सको विमान दुर्घटना आन्तरिक उडानतर्फको सबैभन्दा ठूलो हो । काठमाडौंबाट पोखराका लागि उडेको एनवाइटी–६९१, नाइन एन– एएनसी जहाज दुर्घटना हुँदा ठूलो जनधनको क्षति भएको छ । यो मुलुकका लागि अपूरणीय क्षति हो ।
हालै सञ्चालनमा आएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा परीक्षण उडान गरेकै जहाज दुर्घटनामा परेको छ । यसले नेपालको हवाई सुरक्षासम्बन्धमा फेरि गलत सन्देश दिएको छ ।
तुलनात्मकरुपमा सुरक्षित मानिएको एटिआर सिरिजका जहाज दुर्घटना पर्नु आफैंमा दुर्भाग्य भएको यस क्षेत्रका जानकारहरु बताउँछन् ।
एटिआर दुर्घटनामा परेको यो नै पहिलोपटक हो । नेपालको भौगोलिक बनावट, विमानस्थलको क्षमता तथा यात्रु संख्यालाई ध्यान दिएर एटिआर सिरिजका विमान ल्याइएको बताउने गरिएको छ । विज्ञहरुका अनुसार एटिआर सिरिजका विमानले इञ्जिनमा कुनै प्राविधिक समस्या देखिए जानकारी दिन्छ ।
नेपालमा पटक–पटक हुने हवाई दुर्घटनाले ठूलो जनधनको क्षति हुँदै आएको छ । प्रत्येकपटक दुर्घटना हुँदा सरकारले छानबिन समिति बनाउँछ । समितिले प्रायः मानवीय त्रुटि देखाउँदै प्रतिवेदन दिन्छ । छानबिनबाट आएका सुझावहरु पूर्णरुपमा कार्यान्वयन नहुँदा यस्तो दुर्घटना दोहोरिरहेका छन् । यो विषय निकै गम्भीर भए पनि दुर्घटना न्यूनीकरणमा सरकारले प्रभावकारी कदम चाल्न नसकेको यही घटनाले पनि पुष्टि गरेको छ ।
पोखरामा भएको यती एयरको विमान दुर्घटनाको छानबिन गर्न पनि सरकारले समिति बनाइसकेको छ । उक्त समितिलाई ४५ दिनको समयसीमा दिइएको छ । प्रतिवेदनले दुर्घटनाको यथार्थ कारण बाहिर ल्याउला भन्ने अपेक्षा गरौं । तर, प्रतिवेदनबाट आएका सुझावहरु कार्यान्वयन हुनेमा ढुक्क हुन सकिँदैन । सरकारले हवाई सुरक्षाको विषयमा कडा नीति लागू गर्न जरुरी छ ।
विमानको आयुदेखि नियमित विमान परीक्षणमा सरोकारवाला निकाय र सम्बन्धित विमान कम्पनीलाई जिम्मेवार बनाउनुपर्छ । पुराना विमानहरुलाई उडान रोक्न पनि जरुरी देखिन्छ । किनभने, नेपालमा विमान कम्पनीहरुले वर्षौं चलिसकेका पुराना जहाज ल्याएर उडान भर्दै आएका छन् । यो हवाई सुरक्षाका लागि ठूलो चुनौती बनेको छ ।
नेपालको हवाई सुरक्षालाई लिएर अन्तर्राष्ट्रिय समुदायले निरन्तर प्रश्न उठाउँदै आएको छ । फेरि यस्ता दुर्घटना दोहोरिरहँदा त्यसमा दबाब पुग्ने निश्चित छ ।हवाई दुर्घटना न्यूनीकरण गर्नु राज्यको मात्रै होइन, विमान कम्पनीको पनि उत्तिकै जिम्मेवारी हुन्छ । कम्पनीले आर्थिक लाभलाई मात्र केन्द्रमा राख्नु र सुरक्षाको पाटोमा गम्भीर दबन्नु दुःखद् विषय हो ।
त्यसैले राज्य र विमान कम्पनी दुवै यसमा जिम्मेवार बन्न जरुरी छ । यस्तो दर्दनाक घटना फेरि नदोहोरियोस् । पोखरा दुर्घटनामा मृत्यु भएका सबैप्रति हार्दिक श्रद्धाञ्जली तथा शोकाकुल परिवारजनमा हाद्र्धिक समवेदना !!
प्रकाशित मिति: सोमबार, माघ २, २०७९ १६:२४