खाँदबारी – अरुण उपत्यकाको रुपमा चिनिने सङ्खुवासभामा निर्माणाधीन अरुण तेस्रो जलविद्युत् आयोजनास्थलमा आज बम विस्फोट भएको छ । सङ्खुवासभा जिल्लाको चिचिला गाउँपालिका–३ मा रहेको आयोजनाको विद्युतगृह छेउमा भएको विस्फोटमा नेत्रविक्रम चन्द (विप्लव) समूहका कार्यकर्ताको हात रहेको शङ्का गरिएको छ ।
विस्फोटबाट अरुण तेस्रो आयोजनाको जेनेरेटरमा क्षति पुगेको छ । प्रेसरकुकर बम पड्किँदा जेनेरेटर नजिकैको पर्खालमा पनि क्षति पुगेको छ । प्रहरीले अहिलेसम्म घटनाका दोषी कसैलाई पक्राउ गर्न भने सकेको छैन ।