पोखरा– कुमार आले सधै फुर्सद भयो कि सेती खोँचमा माछा मार्न जाने गर्थे । आइतबार बिहान साढे १० बजे तिर उनी सधैजसो बल्छी बोकेर माछा मार्न खोँच झरे ।
नदीमा बल्छी थापेको १०/१५ मिनेटमा माथिबाट आएको ठूलो आवाज उनको कानमा नराम्रोसँग ठोक्कियो । एकैछिन दिमागमा सन्नाटा छायो ।
‘केही सोच्नै नपाउँदै एकाएक ढुंगाहरू खस्न थाले, खसेका ढुंगा पिठ्युँ र खुट्टामा बजारिए’, आलेले भने, ‘ढुंगा बजारिए पछि म पानीमा कतिबेला पुगेछु पत्तै भएन ।’
यतिकैमा आगो र धुँवाको कालो मुस्लो देखियो । ढुंगा र आगोको झिल्का खोँचमा निरन्तर झरिरहेका थिए । उनले पानीबाट निस्किएर अलिक पर कुनामा रहेको चट्टानमुनी ओत लागेको बताए ।
‘कसैले बम पड्काएको हो कि भन्ने लाग्यो’, आलेले भने, ‘ढुंगा झर्न अलिक कम भएपछि जसोतसो त्यहाँबाट निस्केर छिटोछिटो उकालो लागेँ ।’ केही मिनेटको उकालो चढेपछि जलिरहेका जहाजका टुक्रा देखिएको उनले जानकारी दिए ।
उनलाई जहाजको टुक्रा देखेपछि दुर्घटना भएको रहेछ भन्ने यकिन भयो । ‘बुढापाकाहरू काल नआएसम्म मरिन्न भन्थे, हो जस्तो लाग्यो’, आलेले भने, ‘आइतबार त्यस्तै भयो, म ठूलो भाग्यले बाँचे ।’
उनको खुट्टा र पिठ्यँमा चोट लागेको छ । आलेले भने, ‘धन्न ढुंगा टाउकोमा लागेन नत्र म पनि बाँच्ने थिइन, खुट्टा र पिठ्युँमा हेर्नुस् त कति नराम्ररी चोट लागेको छ, अहिले हिँड्न पनि गाह्रो भएको छ ।’
आले यती एयरलाइन्सको विमान दुर्घटना भएको स्थलबाट पाँच मिनेटको पैदल दूरीको नागार्जुन टोलमा बस्छन् । उनी राम बल्क उद्योगमा चालकका रूपमा काम गर्दै आएको १० वर्ष भयो ।
तनहुँ कुर्लुङका आलेका चार छोरी र एक छोरा छन् । ‘यो त मेरो ठूलो भाग्यो हो, म बाँचे तर आँखा अगाडिको यत्रो जहाज दुर्घटना र त्यहाँ सवार यात्रुको मृत्युको खबरले भने विक्षिप्त बनाएको छ, नजिक गएर त्यहाँका दृश्य हेर्ने आँट पनि आएको छैन’, उनले भने ।
पोखरा महानगरपालिका वडा नं(१५ स्थित सितारामको प्लटिङ भनेर चिनिने स्थान नजिकको सेतिको खोँचमा आइतबार करिब ११ बजे आसपासमा यति एयरलाइन्सको ७२ सिटे जहाज दुर्घटना ७० जनाको शव फेला परेको छ । बाँकी दुई जनाको खोजी अझै जारी छ ।
घटनास्थलबाट निकालिएका शवलाई पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको पोष्टमार्टम भवनमा राखिएको छ । अस्पताल स्रोतका अनुसार काठमाडौं शिक्षण अस्पतालका फरेन्सिक प्रमुख टोलिको नेतृत्वमा र पोखरा स्वास्थविज्ञान प्रतिष्ठान तथा अन्य शिक्षण संस्था फरेन्सिक विज्ञ चिकित्सकबाट शवको वर्गीकरण गर्ने काम सकिएको छ ।
सनाखत गर्न मिल्ने शवको परिवासँग ‘भेरिफाइ’को काम भइरहेको छ । भेरिफाइपछि शवको पोस्टमार्टम शुरु भएको छ । थप सनाखत गर्नुपर्ने देखिएका डीएनए परीक्षणका लागि काठमाडौं पठाउने तयारी गरिएको सहायक प्रमुख जिल्ला अधिकारी अनिलकुमार शाहीले जानकारी दिए ।
उनका अनुसार ४६ जनाको शव काठमाडौं पठाउनु पर्ने र बाँकी २३ जनाको पोखरामै पोष्टमार्टम गरी आफन्तलाई बुझाइने छ ।
प्रकाशित मिति: मंगलबार, माघ ३, २०७९ १२:४४