काठमाडौं– बेलायतमा डिसेम्बर १ देखि हराइरहेका नेपाली युवा किरण पुनको शव प्रहरीले फेला पारेको जनाएको छ । बेलायतको ह्याम्पसायर प्रहरीले सोमबार दिएको जानकारी अनुसार ३६ वर्षीय पुनको शव ब्रिक फिल्ड्स कन्ट्री पार्क अल्डरसटमा आइतबार फेला परेको थियो ।
डिसेम्बर १ तारिख साँझ ७ः३८ बजे अल्ट्रासटको इन्टपार्क सडकमा अन्तिम पटक देखिएको र त्यसपछि वेपत्ता भएका पुनको खोजीमा बेलायत प्रहरीले डेढमहिना बिताएको उल्लेख गरेको छ । ह्याम्पसायरस्थित जघन्य अपराध शाखाका प्रमुख आडम इडवार्डसले किरणलाई के भएको थियो भन्नेबारे बुझ्न र उनको परिवारलाई यो दुःखद क्षणबारे जवाफ दिन प्रहरी प्रशासनले मेहनत गरिरहेको बताए ।
प्रहरी औपचारिक रुपमा शव किरणको भए नभएको पहिचान हुन बाँकी भए पनि किरणकै हुनसक्ने अनुमान गरेको छ । प्रहरीले परिवारलाई यसबारेमा जानकारी दिएको बताएको छ । परिवारलाई प्रहरीका विशेष दक्षता भएका अधिकृतले सहयोग गरिररहेको बताइएको छ ।
पुन हराएपछि अनुसन्धानका क्रममा ह्याम्पसायर प्रहरीले पाँच जनालाई पक्राउ गरेर अनुसन्धान गरिरहेको थियो । प्रहरीले धटनास्थलका वरिपरीका धरमा आफ्नो टीम पठाएर धटनाबारे स्थानीयसँग कुनै प्रमाण वा अन्य कुनै जानकारी भए लिने पनि ह्याम्पसायर प्रहरीले बताएको छ । यसका साथै घटनाबारे कोही कसैलाई केही जानकारी भए प्रहरीको आपतकालीन सेवामा सञ्चालित १०१ मा फोन गरी बताइदिन अनुरोध पनि गरेको छ ।
प्रकाशित मिति: मंगलबार, माघ ३, २०७९ १४:३६