काठमाडौं –नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले कांग्रेस सभापति शेरबहादुर देउवालाई भेटेका छन् । प्रतिनिधि सभाको सभामुख चयनका लागि निर्वाचन प्रक्रिया सुरु हुनअघि उनीहरुबिच भेटवार्ता भएको हो ।
सभापति देउवासँग भेटवार्ता गर्न अध्यक्ष नेपाल र यादव देउवा निवास धुम्वाराही पुगेका हुन् । तीन नेताबीच सभामुखको निर्वाचनबारे छलफल भएको बुझिएको छ । कांग्रेसले सभामुखमा उम्मेदवार उठाउने कि नउठाउने भनेर जारी पदाधिकारी बैठकमार्फत निर्णय गर्दैछ । सरकारलाई समर्थन गरेपनि रोजेको मन्त्रालय नपाएको भन्दै जसपाले सरकारमा सहभागीता जनाएको छैन । यता सभामुखमा एमालेसहित अन्य सत्ता साझेदार दलले एमालेका देवराज घिमिरेलाई सभामुखको उम्मेदवार बनाउने तयारी गरेका छन् ।
प्रकाशित मिति: बुधबार, माघ ४, २०७९ १०:४७