बाँके- बाँकेको नरैनापुरमा ईलाका प्रशासन कार्यालय पुर्नस्र्थापना गर्न स्थानीयहरुले माग गरेका छन् । ईलाका प्रशासन कार्यालय नहुँदा शान्ति, सुव्यवस्था प्रभावकारी हुन नसकेको भन्दै स्थानीयहरुले उक्त माग गरेका हुन् । केही समय यता नरैनापुर ईलाका प्रशासन कार्यालयको काम, कार्वाही जिल्ला प्रशासन कार्यालयबाटै भईरहेको छ ।
जिल्ला समन्वय समिति, बाँकेको आयोजना र बासको सहजिकरणमा आज नरैनापुरमा सम्पन्न सार्वजनिक सुनुवाईका सहभागिहरुले उक्त माग गरेका हुन् । सुनुवाईका सहभागिहरुले बिकास लगाएतका सेवा, सुबिधाबाट आफूहरु बञ्चित भएको बताएका थिए ।
सुनुवाईको अन्तमा ६ बुँदे प्रतिबद्धता व्यक्त गरिएको छ । जसमा नरैनापुर क्षेत्रमा सञ्चलित बिकास निर्माणका कार्यहरु प्रभावकारी, गुणस्तरिय र पारदर्शी बनाउनका लागि निरन्तर अनुगमन गर्ने, योजना तर्जुमाका प्रकृयाहरु अवलम्बन गर्ने, स्थानीय योजनाहरुमा जनसहभागिता अभिबृद्धि गरि जनश्रमदान गर्ने, नरैनापुरका घरदौरियामा सार्वजनिक प्रयोजनका लागि नल्का उपलब्ध गराउने, बिभिन्न सेवाप्रदायक निकाहरुका बारेमा आएका गुनासाहरुका सन्दर्भमा सम्बद्ध कार्यालयलाई पत्राचार गर्ने, जिल्ला समन्वय समिति बाँकेमा समन्वय गर्न आउने संस्थाहरुलाई राप्तीपारी केन्द्रीत हुन आग्रह गर्ने लगाएत छन् ।
बास मटेहिया उपशाखा अध्यक्ष मकबुल अहमद मुकेरीले सञ्चालन गरेको कार्यक्रममा बासका कार्यकारी निर्देशक नमस्कार शाहले स्वागत गरेका थिए भने स्थानीय बिकास अधिकारी हरि प्याकुरेल, सामाजिक बिकास अधिकृत मिन बहादुर मल्ल, नरैनापुर गाउँपालिकाका कार्यकारी अधिकृत मित्रलाल भट्राई लगाएतले सहभागिका प्रश्नहरुको उत्तर दिएका थिए । सार्वजनिक सुनुवाईमा २०० बढिको सहभागिता थियो । सुनुवाईमा लक्ष्मणपुर वडा सचिव अशोकश्रीबास्तब, नरैनापुर वडा सचिव सावितराम बर्मा, गँगापुरका वडा सचिव प्रेम प्रसाद उपाध्याय, कालाफाँटाका सचिव खड्क बहादुर बस्नेत, ईलाका प्रहरी कार्यालय नरैनापुरका प्रमुख गोबिन्द बहादुर सिंहलगाएतको उपस्थिती थियो ।
प्रकाशित मिति: मंगलबार, वैशाख १२, २०७४ १३:५२