काठमाडौं– प्रतिनिधिसभाको सभामुख पदका लागि मुलुकका प्रमुख दुई दलबाट एक–एक जनाको उम्मेदवारी परेको छ ।
सत्ता साझेदार दलका तर्फबाट नेकपा (एमाले)का सांसद देवराज घिमिरे र प्रतिपक्षका तर्फबाट नेपाली कांग्रेसका ईश्वरीदेवी न्यौपानेले सभामुखका लागि मनोनयन दर्ता गराएका हुन् ।
नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा स्थापना गरिएको निर्वाचन अधिकृतको कार्यालय पुगेर घिमिरेले हिजाे दिउँसो १ बजे र न्यौपानेले अपराह्न करिब ४ बजे उम्मेदारी दिएका थिए ।
सभामुखको निर्वाचन बिहीबार बिहान ११ बजे बस्ने प्रतिनिधिसभा बैठकमा हुँदैछ । उक्त बैठकमा सभामुख पदमा निर्वाचित गरियोस् भनी प्रस्तावकले प्रस्ताव र समर्थकले समर्थन गर्ने कार्यतालिका छ ।
प्रतिनिधिसभाको गत पुस २६ गतेको बैठकले माघ ५ गते सभामुखको निर्वाचन गर्ने निर्देशन दिएको थियो । सङ्घीय संसद्को पहिलो बैठक बसेको १५ दिनभित्र प्रतिनिधिसभाका सदस्यमध्येबाट सभामुख निर्वाचित गर्ने संवैधानिक व्यवस्था छ ।
मनोनय दर्तापछि सञ्चारकर्मीको जिज्ञासामा सभामुखका उम्मेदवार घिमिरेले आफू निर्वाचित भएको खण्डमा विगतको शिक्षा र राजनीतिक दलसँगको परामर्श एवं सहमतिका आधारमा संसद्का बैठक तथा अरु प्रक्रियालाई व्यवस्थित गर्ने बताए ।
प्रकाशित मिति: बिहीबार, माघ ५, २०७९ ०८:०२