काठमाडाैं - विदेशबाट सामान आयातका लागि प्रतीतपत्र (एलसी) खोल्दा नै बैंकमा रकम जम्मा गर्नुपर्ने , नगद मार्जिनको व्यवस्था हटेको छ । नेपाल राष्ट्र बैंकले आज बिहीवार एकीकृत परिपत्र २०७८ मा संशोधन गर्दै नगद मार्जिनको व्यवस्था हटाएको हो ।
अब कुनै पनि वस्तु आयात गर्नका लागि बैंकमा नगद मार्जिन राख्नुपर्ने छैन । एलसी खोल्दा व्यवसायीले शतप्रतिशत नगद राख्नुपर्ने व्यवस्थाको व्यवसायीले चर्को विरोध गर्दै आएका थिए ।
विदेशी विनिमय सञ्चिति घट्दै गएपछि राष्ट्र बैंकले नगद मार्जिनको व्यवस्था गरेकोमा अहिले सञ्चितिमा सुधार भएपछि यो व्यवस्था नै हटाएको हो । २०७८ मङ्सिर र माघदेखि १६ सय प्रकारका वस्तुको आयात गर्दा एलसी खोल्दा नै ५० देखि शतप्रतिशतसम्म नगद मार्जिन राख्नुपर्ने व्यवस्था राष्ट्र बैंकले गरेको थियो ।