काठमाडाैं- कर्णाली र सुदूरपश्चिमका केही ठाउँमा फाट्टफुट्ट पानी पर्ने सम्भावना रहेको मौसमविद् वरुण पौडेलले जानकारी दिएका छन् ।
लामो समयदेखि पानी नपर्दा वायुमण्डलमा प्रदूषण थुप्रिदा तुवाँलो लागेको र पानी परेको छैन । केही ठाउँमा फाट्टफुट्ट पानी परे पनि जमिन भिज्ने गरी पानी नपर्दा सुक्खापन बढेको छ । केही दिनयता देशका धेरै ठाउँको मौसम आंशिकदेखि सामान्य बदली हुँदै आएको छ ।
हिजो बिहीवार सुदूरपश्चिमका केही ठाउँमा फाट्टफुट्ट पानी परेको थियो । उनका अनुसार तत्काललाई जमिन भिज्ने गरी पानी पर्ने सम्भावना छैन । तर अहिले सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च पहाडी र हिमाली जिल्लामा हल्का हिमपात भने भइरहेको छ । एक/दुई दिनको मौसम अब यस्तै रहने उनले बताए ।
काठमाडाैंसहित पहाडी जिल्लाको मौसम पनि आंशिकदेखि सामान्य बदलीको अनुमान छ । अहिले तुवाँलो लागेका ठाउँमा बिहान १०/११ बजेपछि भने सफा हुँदै जाने मौसमविद् पौडेलले बताए ।
मौसम बदली भइरहेकोले काठमाण्डौ उपत्यकासहित पहाडी जिल्लाको अधिकतम तापक्रम पनि घट्न थालेको छ । काठमाडाैंको हिजोको अधिकतम तापक्रम १४ दशमलव ५ डिग्री सेल्सियसमा झरेको छ । तापक्रम घट्न थालेकाले चिसो बढेको छ ।
यस्तै मौसमविद् वरुण पौडेलका अनुसार अहिले पूर्वी र मध्य तराईका जिल्लामा बाक्लो हुस्सु कुहिरो लागेको छ । पश्चिम तराईमा भने मौसम सामान्यतया सफा नै रहेको उहाँले जानकारी दिए ।
प्रकाशित मिति: शुक्रबार, माघ ६, २०७९ ०७:५९