एजेन्सी - इराक र ओमानबीच जारी फुटबलको २५औँअरेबियन गल्फ कप फाइनल खेल आयोजना गर्न लागेको बसरा रङ्गशालाको गेटमा बिहीबार भागदौड हुँदा दुई इराकी फुटबल दर्शकको मृत्यु भएको छ भने दर्जनौं घाइते भएका छन् ।
“खेल सुरु हुनुभन्दा केही घण्टाअघि ठूलो सङ्ख्यामा फुटबल समर्थक रङ्गशालामा पुगेका थिए र गेटमा भागदौड मच्चिँदा दुई जनाकोे मृत्यु हुनुका साथै ६५ भन्दा बढी घाइते भएका थिए,” बसरा अपरेशन कमाण्डका एक इराकी कर्णेलले नाम नबताउने शर्तमा बताएका छन् ।
रङ्गशालाको अधिकतम क्षमता ६५ हजारभन्दा बढी दर्शक खेल हेर्नका लागि भेला भएपछि सुरक्षा निकायले दर्शकलाई रङ्गशालाभित्र छिर्न रोक्ने प्रयास गरिरहेको समय भागदौड मच्चिएको स्रोतले जनाएको छ ।
यसैबीच, इराकी प्रधानमन्त्री मोहम्मद शिया अल सुडानी बसरा पुग्नुभएको छ र प्रान्तीय गभर्नर र अन्य वरिष्ठ अधिकारीहरूसँग २५ औँ अरेबियन गल्फ कपको फाइनल खेलको तयारीको निरीक्षण गर्न तत्काल बैठक बसेका छन् ।
यसैगरी, जनवरी १६ मा २५ औं अरेबियन गल्फ कपको सेमिफाइनलमा कतारविरुद्ध इराकी राष्ट्रिय टोलीको खेल हेर्न जाँदै गरेका धी कार र बसरा प्रान्तबीचको राजमार्गमा बाक्लो हुस्सुका कारण इराकी फुटबल समर्थक बोकेको बस ट्रकसँग ठोक्किँदा छ जनाको मृत्यु भएको थियो भने २२ जना घाइते भएका थिए । २५ औं अरेबियन गल्फ कप जनवरी ६ देखि बसरामा सुरु भई जनवरी १९ मा टुङ्गिएको छ ।
प्रकाशित मिति: शुक्रबार, माघ ६, २०७९ ०८:३१