म्यानपावर व्यवसायीहरुको साझा संस्था नेपाल वैदेशिक रोजगार व्यवसायी संघको महाधिवेशनले आगामी दुई वर्षका लागि नयाँ नेतृत्वको चयन गर्दै छ । मुलुकमा बढ्दै गइरहेको बेरोजगारी समस्याको महŒवपूर्ण पाटो हो वैदेशिक रोजगार । मुलुक धानिरहेको रेमिट्यान्सको मुख्य स्रोत पनि हो वैदेशिक रोजगार । यही क्षेत्रमा व्यवसाय गरिरहेका कम्पनीका सञ्चालकहरु नेतृत्व हाँक्ने दौडमा देखिन्छन् यतिखेर ।
विगतदेखिको अभ्यास हेर्ने हो भने संस्थाको नेतृत्वमा पुग्ने अनि आफ्नो स्वार्थ अनुकूलका कार्यहरु मात्र गर्ने गरिएको देखिन्छ । वैदेशिक रोजगारीमा जाने युवाहरुको सुरक्षाका लागि भन्दा पनि व्यवसायीहरु बढी मुनाफा कसरी लिन सकिन्छ भन्नेमा नै व्यवसायीहरु केन्द्रित रहेका छन् । अबको यात्रा व्यवसायीहरुले बढीभन्दा बढी मुनाफा कमाउने मात्र होइन आफूले वैदेशिक रोजगारीमा पठाएका श्रमिकहरुको सुरक्षाको सवाल पनि उठाउन सक्नुपर्ने देखिन्छ ।
वर्तमान सरकारका नवनियुक्त श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रीले शपथग्रहण गरेसँगै बाध्यात्मक वैदेशिक रोजगारीको अन्त्य गर्ने घोषणा गरिसकेका छन् । यो अवस्था वैदेशिक रोजगारका क्षेत्रमा काम गर्ने व्यवसायी र कम्पनीहरुलाई पनि चुनौती हो भन्दा फरक नपर्ला । हुन त वैदेशिक रोजगार नेपाली युवाहरुको बाध्यात्मक अवस्था नै हो । यसमा कसैको दुईमत नहोला । यही बाध्यात्मक अवस्थाको फाइदा उठाउँदै कतिपय वैदेशिक रोजगार कम्पनीहरुले नेपाली युवाहरुमाथि आर्थिक शोषण नगरेका पनि होइनन् । जसका कारण वैदेशिक रोजगार कम्पनीहरु बदनाम हुँदै गइरहेका पनि छन् । यसको जिम्मेवारी व्यवसायी एवं संघको नेतृत्वपंक्तिले लिनै पर्दछ ।
वर्तमान सरकार मात्र नयाँ छैन अब वैदेशिक रोजगार संघको नेतृत्व पनि नयाँ चुनिँदै छ । नयाँ चुनिने नेतृत्वले आफ्नो पेसा र व्यवसायलाई मर्यादित बनाउनुपर्ने जिम्मेवारी ठूलो चुनौतीका रुपमा देखिन्छ । निर्वाचनका बेला व्यवसायलाई मर्यादित, पारदर्शी बनाउने प्रतिबद्धता व्यक्त गर्ने तर नेतृत्वमा पुगे पनि आफ्नो प्रतिबद्धतालाई पूर्णरुपमा बिर्सने परिपाटी रहँदै आएको छ ।
कोभिड–१९ पश्चात् देशभित्र मात्र होइन देशबाहिर पनि रोजगारीका अवसरहरु क्रमश साँघुरिँदै गइरहेका छन् । हरेक वर्ष हजारौं युवाहरु रोजगारीको अभावले भौतारिरहेका छन् । एकातिर सरकारले युवा जनशक्तिलाई दक्ष जनशक्तिका रुपमा परिवर्तन पनि गर्न सकेको छैन भने अर्कोतिर रेमिट्यान्सको लागि मुख्य स्रोत व्यक्तिका रुपमा रहेका तिनै युवाहरु सीपविना नै वैदेशिक रोजगारीमा पुगिरहेका छन् । त्यसकै कारण युवाहरु अलपत्र पर्ने, रोजगारी कम्पनीले तोकेको सेवा सुविधा उपलब्ध नगराउने गर्दै गुनासो आइरहेको छ ।
यसका लागि वैदेशिक रोजगारीका लागि पठाउने व्यवसायीहरुले विगतमा भएका गल्तीहरुलाई सच्याउँदै यो व्यवसायलाई सम्मानित व्यवसायका रुपमा स्थापित गराउनु वर्तमान आवश्यकता पनि हो । संघमा आउने नयाँ नेतृत्वले यसमा प्रभावकारी भूमिका निर्वाह गर्नुपर्छ । अहिले चुनावमा विभिन्न दलगत प्यानलबाट खुलारुपमा व्यवसायीहरु प्रतिस्पर्धामा उत्रिएका देखिन्छन् । जुनसुकै प्यानलले जित हात पारे पनि भोलि समग्र व्यवसायीहरुको साझा संस्थाको रुपमा संघलाई अगाडि बढाउन सक्नुपर्छ । त्यसरी अगाडि बढाउनसक्ने व्यक्तिलाई संघको नेतृत्वमा ल्याउन व्यवसायीहरु चुक्नु हुँदैन ।
प्रकाशित मिति: शुक्रबार, माघ ६, २०७९ १०:५७