मुस्ताङ– मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–१ मुक्तिनाथमा तेस्रो राष्ट्रिय स्की च्याम्पियनसिप–२०२० यही माघ १८ गतेदेखि हुने भएको छ । नेपाल स्की संघद्वारा आयोजना गरिने प्रतियोगिताको फाइनल खेल माघ २० गते हुने संघका अध्यक्ष तथा सांसद जीवनराम श्रेष्ठले बताए ।
स्की प्रतियोगिताले नेपाललाई विश्वमा चिनाउन सकिने, यस्ता साहसी खेलको माध्यमले भ्रमण वर्ष २०२० मा हिमाली क्षेत्रहरूको पर्यटन प्रवद्र्धनमा मद्दत पुग्ने र गाउँपालिका, प्रदेश र केन्द्र सरकारको ध्यानाकर्षण गराउने सांसद श्रेष्ठले बताए ।
स्की हिउँमा खेलिने खेल हो । मुस्ताङमा दोस्रो पटक आयोजना गरिएको स्की खेल प्रतियोगिताले मुस्ताङको बेमौसमी व्यापारको घाटालाई पुर्ति गर्नुका साथै खेल पर्यटनमा सहयोग पुग्ने मुक्तिनाथका पर्यटन व्यवसायी सुरज गुरुङले बताए ।
संघको आयोजनामा गत वर्ष जिल्लाको मुक्तिनाथमा आयोजित दोस्रो स्की प्रतियोगिताको स्नोबोर्डिङ स्की र अल्पाइन स्की विधामा प्रतिस्पर्धा गर्न १५ महिला र १६ पुरुष खेलाडीले भाग लिएका थिए । यस वर्ष प्रतियोगितामा स्नोबोर्डिङ स्की, अल्पाइन स्की र क्रस कन्ट्री स्की प्रतियोगिता राखिने तथा युवाहरूलाई तालिम दिने सङ्घका महासचिव विजय श्रेष्ठले बताए । आवश्यक पूर्वाधार विस्तार गर्न सक्ने हो भने मुस्ताङमा स्की खेलको सम्भावना अत्यन्तै राम्रो रहेको सांसद प्रेमप्रसाद तुलाचनले बताए ।
प्रकाशित मिति: सोमबार, माघ १३, २०७६ ०८:०३