
काठमाडौं — नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआईपीए) को ‘एनएनआईपीए स्पोर्ट्स अवार्ड’ फागुन पहिलो साता आयोजना हुने भएको छ । एनएनआईपीएले आइतबार पत्रकार सम्मेलन गर्दै यस वर्षको अवार्ड फागुन ६ गते प्रदान गरिने जानकारी गराएको हो ।
अवार्ड कार्यक्रममा २८ खेलका उत्कृष्ट खेलाडी ’एनएनआईपीए वर्ष उत्कृष्ट खेलाडी’ बाट सम्मानित हुने संघका अध्यक्ष दिपक श्रेष्ठले जानकारी गराए । एनएनआईपीएले गत वर्ष इन्डोनेसियामा आयोजना भएको १८ औं एसियन गेम्समा सहभागिता जनाएको खेल र प्रदर्शनको आधारमा २८ खेलका एक÷एक उत्कृष्ट खेलाडीलाई सम्मान गर्ने जनाएको छ ।
यस पटक फुटबल, पौडी, भलिबल, टेबल टेनिस, सुटिङ, बक्सिङ, प्याराग्लाइडिङ, भारोत्तोलन, लन टेनिस, कबड्डी, फेन्सिङ, स्क्वास, सेपाताक्रो र साइक्लिङ रहेका छन् । यस्तै स्पोर्ट्स क्लाईम्बिङ, पेन्कक सिलात, कुराश, रोलर स्पोर्ट्स, बास्केटबल,तेक्वान्दो, ब्याडमिन्टन, ट्रायथलन, कराते, जुडो, उसु, आर्चरी, एथलेटिक्स, गल्फ र कुस्ती समावेश छन् । सम्मानित हुने २८ खेलका प्रत्येक खेलाडीले १० हजार नगद पाउने छन् । यस्तै विजेता खेलाडीको फोटोसहितको क्यालेन्डर प्रकाशन हुनेछ ।
यस वर्षबाट दुई खेलाडीलाई सर्वोत्कृष्ट वर्ष खेलाडीले सम्मान गरिने आयोजकले जनाएको छ । संघले २९ खेलका उत्कृष्ट खेलाडीमध्ये एक महिला र एक पुरुषलाई जनही १ र १ लाखले सम्मान गर्ने जनाएको हो ।
त्यस्तै, अवार्ड कार्यक्रममा पहिलो अन्तर्राष्ट्रिय धावक गजराज जोशीको नाममा रहेको ‘गजराज आदर्श खेलाडी’ बाट एक जनालाई सम्मान गरिनेछ । गजराज आदर्श खेलाडीको विजेताले ३५ हजार नगद प्राप्त गर्नेछन् ।
यस वर्षपनि एक जना खेल पत्रकारलाई एनएनआईपिए पत्रकारिता पुरस्कारबाट सम्मानित गर्ने जनाएको छ । जसको पुरस्कार राशी नगद २५ हजार रहेको छ । यस पटक पारा खेलकुदका एक उत्कृष्ट खेलाडीलाई पनि सम्मान गरिने आयोजकले जनाएको छ ।
कार्यक्रममा बोल्दै एनएनआईपीएका श्रेष्ठले सबै खेलका खेलाडीलाई सम्मान र समर्थन गर्न अवार्ड कार्यक्रम गरिरहेको बताए । ‘हरेक वर्ष यस कार्यक्रम गर्न सक्छौँ भनेर कार्यक्रम आयोजना गरेको हो । सबै विधाका खेलाडीलाई समेट्न कार्यक्रम गरेका हौँ । ठुलो रूपमा गर्न नसकेपनि सक्ने गरिरहेका छौँ,’ अध्यक्ष श्रेष्ठले भने ।