
काठमाडौं — शहिद स्मारक ‘ए’ डिभिजन लिगको नवौँ चरणको पहिलो खेलमा पुलिस क्लब र एपीएफ भिड्ने भएका छन् भने दोस्रो खेलमा थ्री–स्टार र मच्छिन्द्र क्लबबीच भिडन्त हुने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले सार्वजनीक गरेको खेल तालिका अनुसार सोमबारबाट नवौँ चरणका खेल सुरु हुनेछन् । नवौँ चरणको दोस्रो दिन मंगलबार समेत दुई खेल हुनेछ । दुबै खेल एन्फा कम्प्लेक्स सातदोबाटोमा हुनेछ । पहिलो खेलमा हिमायनल शेर्पा र सरस्वती युथ तथा दोस्रो खेलमा जावलाखेल र आर्मीबीच प्रतिस्पर्धा हुनेछ । तेस्रो दिन बुधबार एक मात्रै खेल हुनेछ । एन्फा कम्प्लेक्समा हुने खेलमा पुर्व च्याम्पियन मनाङ र संकटाबीच प्रतिस्पर्धा हुनेछ । यस्तै नवौँ चरणको अन्तिम दिन बिहिबार दुई खेल हुनेछन् । दुबै खेल दशरथ रंगशालामा राखिएको छ ।
दिनको पहिलो खेलमा फ्रेण्ड्स र च्यासल तथा दोस्रो खेलमा न्यूरोड टिम एनआरटी र ब्रिगेड ब्वाईजबीच प्रतिस्पर्धा हुनेछ । लिगको आठौँ चरणको खेल सकिँदा आर्मी १७ अंक सहित शीर्ष स्थानमा छ ।
यस्तै, मछिन्द्र १६ अंक सहित दोस्रो र मनाङ तेस्रो स्थानमा छ । थ्री स्टार १४ अंक सहित चौथो स्थानमा छ । समान १२ अंक सहित एनआरटी पाँचाँै, जावलाखेल छैटाँै र संकटा सातौँ स्थानमा छन् । पुलिस ११ अंक सहित आठौँ स्थानमा छ । च्यासल ९ अंक सहित नवौँ, ब्रिगेड ब्वाईज र फ्रेन्ड्स ८ अंक सहित क्रमश दशौँ र ११ औँ स्थानमा छन् । हिमालयन शेर्पा क्लब ७ अंक सहित १२ औँ स्थानमा छ । एपीएफ ५ अंक सहित १३ औँ स्थानमा रहँदा सरस्वती १ अंक जोड्दै तालिकाको पुछारमा छ । पुछारको एक टिम रेलिगेशनमा पर्नेछ ।