काठमाडौं– यही शुक्रबार रिलिज भएका दुई बलिउड फिल्म ‘पंगा’ र ‘स्ट्रिट डान्सरः थ्रीडी’ दुवै दर्शकबाट सुखद प्रतिक्रिया बटुलिरहेको छ । तर, व्यापारको मामिलामा भने कंगना रनावट अभिनीत ‘पंगा’लाई वरूण धवन र श्रद्धा कपुरको ‘स्ट्रिट डान्सरः थ्रीडी’ले उछिनेको छ ।
भारतीय सञ्चारमाध्यमले जनाएअनुसार रिलिजको पहिलो दिन ‘पंगा’ले २.७० करोड भारु कमाएको छ । तर, अर्को फिल्म ‘स्ट्रिट डान्सर ः थ्रीडी’ले भने त्यसको पाँच गुण अर्थात १०.२६ करोड भारु कमाएको जनाइएको छ । यसरी एकैदिन रिलिज भएको फिल्मले बलिउड बक्स अफिसमा कसरी यति धेरै अन्तर भयो ? अहिले यही विषयमा बलिउडमा चर्चा भइरहेको छ ।
बलिउडको समीक्षकहरूका अनुसार कमाइमा यो अन्तर कंगनाको सिनेमालाई कम दर्शकले हेरेर नभई सम्बन्धित सिनेमालाई दिइएको पर्दाले हो । फिल्म ‘पंगा’ १४ सय पर्दामा रिलिज भएको छ भने ‘स्ट्रिट डान्सरः थ्रीडी’ ४४ सय पर्दामा रिलिज भएको छ । पर्दाको हिसाबले कंगनाको फिल्मको ब्यापार कम होइन । अहिले यसैगरी तुलना गरिएको छ । कतिपयले ‘पंगा’माथि विभेद गरिएको समेत बताएका छन् ।