काठमाडौं– भनिन्छ, चलचित्र समाजको ऐना हो । त्यहीअनुसार बिगतमा चलचित्र बढी निर्माण हुन्थ्यो । तर, हाल आएर बिषयवस्तु छनोटमा बिबिधता आएको पाइन्छ ।
एक्शन, द्वन्द्व, मायाप्रेम र हाँस्यापक्ष मात्र चलचित्रको सवलपक्ष होइन, चलचित्रले समाजमा के सन्देश दिँदैछ भन्ने कुराको पनि महत्व राख्छ । चलचित्र निर्माणका मानवीय वा प्राविधिक पक्ष जस्तै, निर्माता, निर्देशक, लेखक, पात्र, कथावस्तु, संवाद आदि सबै पुरुषहावी देखिन्छ । यस्तो अवस्थामा महिलाप्रधान चलचित्र निर्माण गर्ने वा महिलाका मुद्दालाई न्यायसंगत ढंगले उठाउने सवाल गौण बनेको अवस्थामा निर्देशक बेदप्रसाद भुर्तेलले जातियबिभेद जस्ता गहन बिषयमा अन्तरजातिय विवाहले समाजमा कस्तो प्रभाव पारिरहेको छ भन्ने बिषयवस्तुमा ‘नदेखिएको जात’ निर्माण गर्दैछन् ।
पहिले इन्काउन्टर, सञ्जोग, कुर्बान, फेरी भेटौला, अफिसर, बुलेट जस्ता चलचित्र निर्देशन गरिसकेका निर्देशक बेदप्रसाद भुर्तेल भन्छन्, ‘ब्यवसायिक हिसाबले मात्र चलचित्र बनाउने नभई चलचित्रकर्मीले समाजमा घटित बिबिध घट्नाहरूलाई आमरूपमा सकारात्मक सन्देश प्रर्वाह गर्न सक्नुपर्छ, अनिमात्र उसको कार्य सार्थक बन्न सक्छ ।’
यसो भनिरहँदा आर्थिकपक्ष पनि बलियो बनाउनुपर्ने उनको भनाइ छ । समाजभित्र लुकेर रहेका साना, ठूला घटनालाई अध्ययन गरी नाफामूलक चलचित्र बनाउन सकिन्छ भन्ने उनको मान्यता छ । उनले चाँडै नै ‘नदेखिएको जात’ फ्लोरमा जाने बताए ।