लामो रस्साकस्सीपछि नेपाल वैदेशिक रोजगार व्यवसायी संघले नयाँ नेतृत्व पाएको छ । शुक्रबार सम्पन्न संघको २९औं साधारणसभाले राजेन्द्र भण्डारी अध्यक्षसहित नयाँ कार्यसमिति चयन गरेको हो । विगतमा पटक–पटक स्थगित बन्दै आएको साधारणसभा यसपटक सम्पन्न भयो र नयाँ कार्यसमिति चयन गर्न सफल भयो । यसपटक तीनजना प्रतिस्पर्धीलाई पछि पार्दै भण्डारीले विजयी हात पारे । नेकपा एमालेनिकट उनले अबको दुई वर्ष संघको नेतृत्व सम्हाल्ने छन् ।
भण्डारी नेतृत्वको प्रगतिशील समूहले ‘समुन्नत राष्ट्र निर्माणको आधार ः सुरक्षित, व्यवस्थित र मर्यादित वैदेशिक रोजगार’ भन्ने नारा अघि सारेको थियो । सो समूह २२ बुँदे प्रतिबद्धतासहित चुनावमा होमिएको थियो । तयसलाई व्यवसायीहरुले अनुमोदन गरिदिएका छन् । अध्यक्षमा भण्डारीसहित तीन उपाध्यक्ष, कोषाध्यक्ष र चार सदस्य गरी नौ जना प्रगतिशील प्यानलबाट विजयी हुनुले उल्लिखित नारा र प्रतिबद्धता अनुमोदन भएको ठहरिन्छ । अब भण्डारीले उक्त नारा र प्रतिबद्धतालाई व्यवहारमा उतार्न जरुरी छ । तर, यो चुनौतीपूर्ण देखिन्छ ।
वैदेशिक रोजगार अहिले मुलुकको लागि बाध्यात्मक बनेर रहेको छ । यसले मुलुकको अर्थतन्त्रलाई धान्ने काम गरिरहेको छ । तर, यही क्षेत्रमा धेरै विकृति र विसंगतिहरु रहेको कुरा लुकेको छैन । वैदेशिक रोजगार व्यवसायी संघ व्यवसायीहरुको हक हितका लागि गठन गरिएको भए पनि यस क्षेत्रलाई व्यवस्थित र मर्यादित बनाउने दायित्व उसले बिर्सनु हुँदैन । त्यसैले संघले अब यो व्यवसायलाई शुद्धीकरणतर्फ लैजाँदै सम्मानित व्यवसायको रुपमा स्थापित गर्नुपर्दछ ।
वैदेशिक रोजगारीमा जाने श्रमिकहरुमाथि हुने ठगीलगायतका समस्या समाधानमा नयाँ नेतृत्वले तत्काल पहल गर्नुपर्छ । सरकारले लागू गरेको फ्रि भिसा, फ्रि टिकटको व्यवस्था अझै कार्यान्वयन हुन नसकेको अवस्था छ । व्यवसायीहरुले भने उक्त व्यवस्था खारेजीको माग गर्दै आएका छन् । यस्तो विवादको अवस्थालाई टुंग्याउनेतर्फ संघले पहल गर्नुपर्छ ।
वैदेशिक रोजगार व्यवसायीहरुमाथि ‘जसरी पनि पैसा कमाउन लाग्ने’ गरेको आरोप लाग्दै आएको छ । कतिपय व्यवसायीहरुले त्यस्तो गरेका घटना पनि बेलाबेला बाहिर आइरहेका हुन्छन् । व्यवसायीहरु स्वयंले पनि बेलाबेला यस्ता कुराहरु स्वीकार गर्दै आएका छन् । यी आरोप र समस्याहरुलाई चिर्न संघको नयाँ नेतृत्वले कसरी पहल गर्लान् भन्ने चासोको विषय बनेको छ । यो नयाँ नेतृत्वको लागि चुनौती पनि हो ।
संघको चुनावमा व्यवसायीहरु राजनीतिकरुपमा विभाजित भएको प्रस्टै देखियो । यसले संघको नयाँ कार्यसमितिलाई आगामी दिनमा काम गर्न कति सहज होला भन्ने प्रश्न उठाएको छ । विगतको स्थिति हेर्ने हो भने पनि संघ सधैं विवादमा फस्दै आएको थियो । संघमा दलीय स्वार्थ हाबी हुँदा त्यस्तो समस्या आएको बुझिन्छ । अहिलेको नेतृत्व पनि कुनै एक दलको समूहबाटै आएका छन् । चुनावमा पराजित उम्मेदवारहरुका साथै सबै व्यवसायीहरुको साथ लिएर अगाडि बढ्नु नयाँ नेतृत्वलाई चुनौती नै हुने देखिन्छ । यद्यपि, नवनिर्वाचित अध्यक्ष भण्डारीले सबैको साझा संस्थाको रुपमा अगाडि बढाउने प्रतिबद्धता जनाएका छन् ।
प्रतिबद्धताअनुरुप काम गर्न उनलाई सफलता मिलोस्, शुभकामना ।
प्रकाशित मिति: आइतबार, माघ ८, २०७९ ११:२७