[caption id="attachment_52335" align="alignleft" width="173"]
रविन्द्र तामाङ [/caption]
प्राचीनकालमा काठमाडौं उपत्यकामा पानीको ठूलो दह थियो । जहाँ नागहरु बस्दथे । बन्धुमती नगरबाट एक दिन विपश्वी बुद्ध यहाँ आउनुभयो र दहमा चैत्र पूर्णिमाको दिन कमलको वीज छर्नुभयो । त्यसबाट कमलको फूल फुलेर आश्विन शुक्ल पूर्णिमाको दिन नागदहमा श्रीस्वयम्भू ज्योतिरुप उत्पन्न भयो । त्यही ज्योतिरुपबाट निःसृत पञ्चरंगी किरणहरुमा पञ्चबुद्ध प्रकट हुनुभयो । यसपछि सो ज्योतिको दर्शन गर्न विश्वभू बुद्ध आउनुभयो । स्वयम्भू ज्योतिको दर्शन गर्नुभई नागदहको जल बाहिर निस्कने बाटो स्थानीयहरुलाई बताएर चाँडै यहाँ मानव सभ्यता र संस्कृतिको विकास हुने घोषणा गरेर जानुभयो ।
यसैगरी महाचीनबाट आफ्ना शिष्यहरुसहित महामञ्जुश्री काठमाडौंको नागदहमा उत्पन्न भएको ज्योतिको दर्शन गर्न आउनुभयो । उहाँले आफ्ना शिष्य र स्थानीयहरुको सहयोगमा नागदहको पानी चौबार, पशुपति र गोकर्णमा काटेर बाहिर पठाउनुभयो । अनि कात्तिक शुल्क पूर्णिमाको दिन स्वयम्भू ज्योतिको दर्शन नजिकै गएर गर्नुभयो । तलाउका नागहरु पनि बसून् भनी टौदह, धनदह र द्वासा तीर्थ सिर्जना गर्नुभयो । अनि उहाँले उपत्यकामा मञ्जुपतन नामक सहर बसाइ धर्माकारलाई राजा बनाई नेपाल खाल्डो अर्थात् उपत्यकामा मानव सभ्यता र बौद्ध संस्कृतिको स्थापना गर्नुभई चीन फर्कनुभयो भन्ने कुरा बौद्ध वाङमयको स्वयम्भू पुराण पुस्तकमा उल्लेख छ ।
तामाङ जातिको प्रवेश उपत्यका आगमन
यिनै पृष्ठभूमिलाई उल्लेख गर्दै बौद्ध धर्मावलम्बी तामाङहरु ‘आफूलाई बोधिमहासत्व महा–मञ्जुश्रीसँसँगै काठमाडौ उपत्यकामा आएर बसोबास गरेका हौं । हामी मञ्जुश्रीका शिष्यहरुका सन्तान हौं । काठमाडौ उपत्यकाको आदिवासी हौं’ भनेर दाबी गर्दछन् । आफ्ना गुरु र पुर्खा महामञ्जुश्रीको स्मरण गर्दै हरेक वर्षको माघ शुल्क प्रतिपदाको दिन आफ्नो घरको आगन, गुम्बाका साथै आफू बसोबास गर्ने पहाड पर्वतका थुम्काहरुमा मञ्जुश्रीको प्रतीक खड्ग (राल्ठी) को गजुर राखी धार्मिक झण्डा (लुङ्दर) ठड्याइ नव वर्ष अर्थात् ल्होछार सुरु भएको घोषणा गर्दछन् ।
तामाङ जातिमा मञ्जुश्री संवत्को प्रचलन
चीनको पञ्चश्री पर्वतबाट आउनुभएको बोधिसत्व महामुनी मञ्जुश्रीले नेपाल उपत्यकाको नागदहमा स्वःउत्पन्न भएको ज्योतिको दर्शन गरेर मानव सभ्यता, धर्म र संस्कृतिको सुरुआत गरेको स्मरणमा उहाँकै साथमा आएर चीन नफर्की काठमाडौं उपत्यका र यसका पहाडी भूभागमा आवाद रहेका तामाङहरुले उनैद्वारा प्रतिपादित पात्रोको आधारमा हरेक वर्षको माघ शुल्क प्रतिपदाको दिन संवत् फेरिएको उपलक्ष्यमा मञ्जुश्री संवत् मनाउने गर्दछन् । तामाङहरुले मनाउने मञ्जुश्री संवत् यस वर्ष २८५९ हो । यसबाट पनि आदिवासी तामाङ जाति चीन तिब्बत हुँदै नेपाल सरहदको केरुङ र कुती नाकाबाट नेपाल प्रवेश गरेर काठमाडाै उपत्यका र यसका वरिपरिका पहाडी भूभाग अर्थात् बागमती प्रदेशमा आवाद भएको पनि २८५९ वर्ष पुगेको प्रस्ट हुन्छ ।
वर्ष (वर्ग) परिचय र धार्मिक र सामाजिक महत्वपूर्ण
तामाङहरुले मनाउने वर्गहरुले १२ वटा पशुपक्षीको प्रतिनिधित्व गरेको पाइन्छ । जसमा मुसा, गोरु, बाघ, बिरालो, सर्प, घोडा, भेडा, बाँदर, चरा , कुकुर र सुंगुर क्रमशः पर्दछन् । उल्लिखित १२ पशुपक्षीका प्रतीक वर्षहरुको पञ्चतत्तवगत स्वभावहरु हुने गर्दछन् । जसमा आगो, माटो, धातु, पानी र काठ हुन्छ । त्यसैले उनीहरु आफ्नो वर्ष गणना, जन्मदेखि मृत्युसम्मका संस्कार, मनोवैज्ञानिक उपचार, मंगलपूजा, नवकार्यहरुको थालनी र अशुभ तत्तवहरुको फालनी गर्दा धर्मगुरु वा लामा पुरोहितसँग सरसल्लाह गरी प्राचीन ज्योतिष पद्धतिको चन्द्रपात्रोअनुसार गर्ने गर्दछन् । यसरी पशुपक्षीको वर्ष र पञ्च तत्तवगत स्वभाव मिलाउँदा मित्र भए जीवन सहज, सफल र राम्रो हुने र शत्रु भए असहज, नराम्रो र असफल हुन्छ भन्ने तामाङहरुको मान्यता रहेको छ ।
घरघरमा तामाङ ल्होछारको प्रारम्भ
तामाङहरुमा परम्परागतरुपमा माघे संक्रान्तिको दिनदेखि नै नव वर्ष मनाउन थाल्दछन् । यो उनीहरुको परम्परागत वर्ष गणना गर्ने ल्होछार हो । जो सौर्य पात्रोमा आधारित रहेको छ । यसलाई शाहकाल र राणाकालमा राज्यले मानेको हिन्दू धर्मको प्रभावको रुपमा लिनु पर्दछ । यसैभित्र तामाङ ल्होछार अर्थात् नयाँ वर्ष गणना अवशेषको रुपमा छोपिरहेको छ । त्यसैले उनीहरु पुसको अन्तिम दिनको साँझपख कन्दमूल उसिन्ने, फापरको पीठोको रोटी उसिनेर पकाउने गर्दछन् । संक्रान्तिको दिन उनीहरुका घरमूली वा महिला पानी पँधेरो रहेको ठाउँमा गएर नुहाइ, पाठपूजा गरी चोखो पानी ल्याएर कुलदेवताका साथै भगवान् बुद्धलाई चढाउने गर्दछन् । यसपछि सपरिवारले आफ्ना कुल देवता र गुरु पद्यसम्भव, लोकेश्वर र बोघिसत्व मञ्जुश्रीलगायतलाई ढोग गर्दछन् । अनि परिवारका प्रत्येक सदस्यले आफूभन्दा ठूलाबडाबाट ढोग थापी आशीर्वाद लिने गर्दछन् ।
त्यसपछि हरेक घरका सदस्यहरु गाउँघरमा रहेका अन्य ठूलाबडा र मान्यजनका पुगेर ढोग थापेर आशीर्वाद लिने गर्दछन् । बालबालिकाहरु गाउँघरका दैलोदैलोमा पुगी आलम रोटी देउ भनी माग्ने भिक्षा पाएपछि ढोग थाप्दै, आशीर्वाद लिने गर्दछन् । यसका साथै साँझपख कुलायन भाइ, छोरीज्वाइँहरुको साथमा जाँड रक्सी, मासुलगायत खानपिन सँगसँगै बसी गरेर खानपिनपछि डम्फु, टुङ्ना बजाएर दुःख सुखका सेलो गीत गाउँदै सेलो, म्हेन्दोमाया नृत्य गर्ने गर्दछन् । यसरी कुल कुटुम्बलाई बोलाएर अनिवार्यरुपमा खुवाउने कार्यक्रम तामाङहरुमा माघ महिनाभर चल्दछन् ।
गुम्बा–गुम्बामा तामाङ धार्मिक ल्होछार
मञ्जुश्री ज्योतिष पद्धतिअनुसार तिथिगतरुपमा तामाङहरु माघ शुक्ल प्रतिपदाको दिन धार्मिकरुपमा नयाँ वर्ष फेरिएको मान्दछन् । यस दिन तामाङहरु आ–आफ्ना गाउँमा रहेको घ्याङ–गुम्बामा भेला हुन्छन् । भगवान् बुद्ध, बोधिसत्व मञ्जुश्री, अवलोकेश्वर, पद्यसम्भव, बज्रसत्वलगायतको स्मरण पूजन गर्दछन् । अनि आफ्ना पुरोहित लामाहरुले सम्भोटा लिपिका धार्मिक पुस्तकहरु बाजागाजा बजाउँदै बौद्ध धर्मका मन्त्रोच्चारणहरु घण्टौंघण्टा गुम्बामा बसेर श्रवण गर्ने गर्दछन् । यसपछि गुम्बामा रहेका भगवान् बुद्ध, पद्यसम्भव, लोकेश्वर, मञ्जुश्री, बज्रसत्वलगायतलाई ढोग गर्दै १०८ दीप प्रज्वलित गर्दै विश्वशान्तिको कामना गर्दै नव वर्षले सम्पूर्ण मानव प्राणी जगतमा सुख, शान्ति र समृद्धि ल्यायोस् भन्ने कामना गर्ने गर्दछन् । अन्तमा पूजा सकिएपछि सो घ्याङ/गुम्बाको आँगनमा पुरानो वर्ष गएको र नयाँ वर्ष फेरिएको अवसरमा लामा पुरोहितले प्रतीकको रुपमा धार्मिक झण्डा लुङ्दर उभ्याउने गर्दछन् ।
यसरी धार्मिक ध्वजामा उभ्याउँदा लामा पुरोहित र उपस्थित महानुभावले चम्पाको पीठो तीन पटक आकाशतर्फ उडाउने गर्दछन् । यसरी उडाउँदा उनीहरुले ‘राक्षसहरुको अन्त्य होस् देवताहरुको विजय होस्, अनिकाल हटोस्, सहकाल आओस्, दुःख, दशा, रोग अशान्ति नहोस्, सुुख शान्ति दीर्घायु रहोस्’ भन्ने जस्ता बौद्ध धर्म ग्रन्थका श्रुतिहरुले मन्त्रोच्च्चारण गर्दै कामना गर्ने गर्दछन् ।
तत्पश्चात् पूजामा लामा गुरुहरुबाट उपस्थित तामाङ महानुभावहरुले आशीर्वाद लिने गर्दछन् । त्यसपछि गुम्बामा उपस्थित महानुभावहरुबीचमा एक अर्कामा ल्होछारको शुभकामना आदानप्रदान गर्दै प्रसाद खाने गर्दछन् । अनि घर फर्किएर आफन्तजन, इष्टमित्र र साथीहरुलाई समेत नयाँ वर्षको शुभकामना दिने लिने गर्दछन् ।
राज्यले मान्यता दिएको स्मरणमा टुँडिखेलमा ल्होछार महोत्सवः
प्राचीनकालमा नैमहा चीनबाट नेपाल उपत्यकामा नागदहमा उत्पन्न स्वयम्भू ज्योतिको दर्शनार्थ आउनुभएको बोधिसत्व एवं ज्योतिषाचार्य मञ्जुश्री अर्थात् झ्याम्याङको प्रवेशको क्रममा यस पर्व भित्रिएको थियो । जसलाई मञ्जुश्रीसँगसँगै उनका शिष्यको रुपमा नेपाल प्रवेश गरेका तामाङहरुले ल्होछार परम्पराको अभ्यास प्राचीनकालदेखि मल्लकालसम्म खुलेर गरिरहेका थिए । जसको प्रमाणस्वरुप स्वयम्भू महाचैत्यको अग्रभागमा रहेको धर्मधातुको बज्र राखिएको इनारको वरिपरि प्राचीन ल्हो पद्धतिको १२ वटा जीवजन्तुको चित्रबाट पनि प्रस्ट हुन्छ ।
शाह र राणाकालमा राज्यले हिन्दू धर्मलाई राजकीय र सर्वोच्च धर्म मानेर अन्य धर्मलाई खासै महत्व नदिएका कारण तामाङ सामाजिकरुपमा ल्हो पद्धति, वर्ष गणना र संस्कारजन्य कार्यमा र धार्मिकरुपमा गुम्बाहरुमा वर्ष फेरिएको प्रतीकस्वरुप कामना र दशाग्रहलगायत पूजाआजा जस्ता कार्यमा सामान्य अभ्यासको रुपमा जीवन्त रहिरहेको थियो ।
वि.सं. २०४६ को परिवर्तनपछि तामाङ संघसंस्थालगायत जनजातीय संघसंस्था र प्राज्ञिक व्यक्तिहरुले गरेको प्राज्ञिक आन्दोलनबाट नेपाल सरकारले वि.सं. २०५१ देखि ल्होछार पर्वलाई ‘राष्ट्रिय सांस्कृतिक पर्व’को रुपमा मान्यता दिएर सार्वजनिक बिदा दिने घोषणा ग¥यो ।
जसको स्मरण गर्दै खुसियालीस्वरुप राज्यले सार्वजनिक बिदा दिएको दिनमा नै राजधानी, प्रदेश र जिल्लाहरुका टुँडिखेलमा उत्सव–महोत्सव नै आयोजना गरेर ल्होछार पर्व अर्थात् नव वर्ष महोत्सव मनाउने प्रचलन नै बस्यो । यस्ता महोत्सवमा तामाङ जातिहरु, विभिन्न संघसंस्थाका पदाधिकारीहरु, प्राज्ञिक व्यक्तित्वहरु, लेखक पत्रकार, स्रस्टालगायतको उपस्थिति रहने गर्दछ । महोत्सवमा एकातिर आयोजकले नेपाल सरकारका प्रधानमन्त्री, मन्त्री र सांसदहरुलाई पनि कार्यक्रममा अतिथि बनाउने र सम्बोधन गराउने र अर्कोतिर तामाङ जातिका पदाधिकारी, विद्धानविदूषीहरुले वक्ताहरुले आफ्नो जातीय मुक्ति, समृद्धि र उन्नतिका मागहरु राज्यलाई सुनाउने गर्दछन् ।
कार्यक्रममा तामाङ सर्वसाधारणको उपस्थिति, कलाकारहरुको गीत संगीत र नृत्यहरुबाटसमेत मनोरञ्जन, व्यवसायीहरुले राखेका स्टलहरुमा तामाङ खाना, वेशभूषा र कलाकारहरुको बिक्री वितरण पनि हुने गर्दछ । जहाँ उपस्थित भएर तामाङहरुले आफ्नो जातीय पहिचान, एकता र साम्प्रदायिक सद्भाव प्रदर्शन र प्रकट गर्ने एकातिर गर्ने गर्दछन् भने अर्कोतिर काठमाडौं उपत्यका र यसका वरिपरिका पहाडी प्रदेशका तामाङहरुले हामी उपत्यका र यसका वरिपरिका पहाडी प्रदेशका आदिवासी हौं भन्ने भौतिक प्रमाण पेस गर्दछन् ।
विश्वव्यापी सोनाम ल्होछार
बोधिसत्व मञ्जुश्रीद्धारा प्रतिपादित पात्रोअनुसार हरेक वर्षको माघ शुक्ल प्रतिपदाको दिन सोनाम ल्होछार अर्थात् नयाँ वर्ष पर्व पर्दछ । सोही दिन चीन, ताइवान, हङकङ, मकाउ, सिंगापुर, मंगोलिया, मलेसिया, थाइल्याण्ड, लाओस, भियतनाम, बर्मा, जापान, तिब्बत ( कृषकहरु), भारत (लद्दाखी)हरुले नयाँ वर्ष मनाउँछन् । नेपालका पनि ह्योल्मो, नेस्याङ्वा, डोल्वालगायत हिमाली भेगका जातिहरुले पनि नयाँ वर्ष मनाउँछन् । यसबाट गुरुङहरुले मनाउने तोला ल्होछार, शेर्पाहरुले मनाउने ग्याल्पो ल्होछारभन्दा तामाङहरुले मनाउने सोनाम ल्होछार विश्वव्यापीकरणले पनि यसको प्राचीनता प्रस्ट हुन्छ ।
निष्कर्ष
माथि उल्लिखित जुनसुकै देशका बौद्ध धर्मावलम्बीहरुले अ–आफ्ना देशमा माघ शुक्ल प्रतिपदाको दिनमा सोनाम ल्होछार अर्थात् नयाँ वर्ष पर्व मनाउने धार्मिक विश्वास के हो भनेर अध्ययन गर्दा भगवान् बुद्धको एउटा जातक कथा सर्वत्र सुन्न पाइन्छ । सो कथाअनुसार ‘जब भगवान् बुद्ध स्वर्ग फर्कने बेला नजिक आयो । तब उहाँले सम्पूर्ण पशुपक्षीलाई आफूले पृथ्वी छोड्नुपूर्व बोलाउनुभयो । तर, उहाँलाई बिदाइ गर्न केवल १२ वटा पशुपक्षीहरु मात्र आइपुगे ।
यसरी उहाँलाई भेट गर्न एकपछि अर्को गरी क्रमशः मुसा, गोरु, बाघ, बिरालो, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुंगुर आउने पशुपक्षीको नामबाट वर्षको नामकरण हुनेछ । जोजो मानवहरुको जन्म, जुनजुन वर्ष संवत्मा हुनेछ । सोही जन्म वर्षको प्रतीकअनुसार नै उनीहरुको स्वभाव, चरित्र र जीवनशैलीमा पर्नेछ । र, उनीहरुले सोहीअनुसार जीवन व्यतीत गर्ने छन्’ भनेर आशीर्वाद दिनुभएका कारण पशुपक्षीलाई सम्मान गर्ने नयाँ वर्ष मनाउन थालिएको बताउँछन् ।
यसबाट पनि तामाङ ल्होछार अर्थात् पशुपक्षीको प्रतीकस्वरुप नयाँ वर्ष मनाउने प्रचलनको लामो सामाजिक, आर्थिक र धार्मिक इतिहास रहेको प्रस्ट हुन्छ । यसबाट पनि ल्होछार पर्व मनाउने प्रचलन शिकारी युगबाट आरम्भ भएर बुद्धकालीन समयमा धार्मिक मान्यता प्राप्त भएको संकेत गर्दछ । विज्ञान, गणित र ज्योतिष संवत् रहेको ल्होछार अर्थात् नयाँ वर्ष/पर्व बौद्ध धर्मको माध्यमबाट नेपाल, भारत, चीन, तिब्बत हुँदै ताइवान, हङकङ, मकाउ, सिंगापुर, मंगोलिया, मलेसिया, थाइल्याण्ड, लाओस, भियतनाम, बर्मा, जापानलगायत देशहरुमा फैलिएर विश्वव्यापीकरण भएकोसमेत प्रस्ट हुन्छ ।
यसरी लामो इतिहास, धर्म, परम्परा, मूल्य मान्यता र अभ्यास बोकेको ल्होछार पर्व एवं संवत् यसपटक बाघ वर्गको बिदाइ र बिरालो वर्गको आरम्भ वि.सं.२०७९ माघ ८ गते परेको पावन अवसरमा हरेक प्राणीमा सुख, शान्ति र समृद्धिका साथै विश्वमा शान्ति कायम होस् भनी शुभकामना व्यक्त गर्दछु ।