हुम्ला - हिमपातका कारण चीनसँगको सीमावर्ती क्षेत्र सिमकोट–हिल्सा सडक अन्तर्गतको यारी–हिल्सा सडक खण्ड बन्द भएको छ । सडकमा तीन फिटभन्दा बढी हिउँ जमेपछि यारी–हिल्सा सडक खण्ड बन्द भएको हो ।
जिल्ला प्रशासन कार्यालय हुम्लाले दुई दिनकाे लगातारको हिमपातपछि उत्तरी सीमा क्षेत्र यारीदेखि हिल्सासम्मको यातायात सेवा बन्द भएको जनाएकाे छ । गएकाे असोज कात्तिकमा परेको हिउँ जमेर बन्द भएकाे याे सडक पुस १७ र १८ गते नाम्खा गाउँपालिकाले हिउँ पन्छाएपछि साढे तीन महिनापछि सञ्चालनमा आएकाे थियाे ।
झण्डै दुई हप्ताभन्दा बढी समय सञ्चालनमा आएकाे यारी–हिल्सा क्षेत्रको यातायात सेवा हिमपातका कारण पुनः बन्द भएकाे छ । ४ हजार ६ सय मिटर उचाइमा रहेकाे नारा लेक क्षेत्रको याे सडक हिउँले सेताम्मे भएकाे छ ।
एकतर्फी नाका खुलेपछि चीनबाट ल्याइएकाे खाद्यान्न, लत्ताकपडा र विकास निर्माणका सामान सडक बन्द भएपछि हिल्सामै रोकिएको छ । यातायात ठप्प भएपछि व्यापारी, सशस्त्र प्रहरी बलका सुरक्षाकर्मी, यारी नाका भन्सारका कर्मचारी र हिल्साका स्थानीयलाई आवतजावतमा समस्या भएको छ।
प्रकाशित मिति: सोमबार, माघ ९, २०७९ ०९:०२