डा. सन्दुक रुइत, जो नेपालले गर्व गर्न लायक व्यक्तित्व हुन् । मोतीबिन्दुका कारण आँखाको ज्योति गुमाउँदा अन्धकारमय जीवन बिताउन विवश लाखौं नेपालीको आँखा देखाइदिएका उनले विश्वका अन्य मुलुकहरूमा पनि गएर सेवा गरेका छन् । विश्व समुदायमा नेपालको नाम चिनाउन त्यो पनि चिकित्सा प्रविधिमा उनले पु¥याएको योगदानलाई सबैले उच्च प्रशंसा गर्नैपर्छ ।
मोतीबिन्दु उपचार गर्ने सरल विधि (इन्ट्राअकुलर लेन्स)को विकास गरेर अन्धोपन हटाउन खेलेको भूमिकाको योगदान गर्दै हालै उनलाई अन्तर्राष्ट्रिय पुरस्कार प्रदान गरिएको छ । बहराइनका राजा सेख हमद विन इसा अल खालिफाले सन् २००९ मा पूर्वराजा सेख इसा बिन सलमान अल खालिफाको नाममा स्थापना गरेको ‘इसा अवार्ड फर सर्भिस टू ह्युमानिटी’ संस्थाले उनलाई ‘इसा अवार्ड’बाट सम्मानित गरेको छ । पुरस्कारको राशि १० लाख अमेरिकी डलर रहेको छ । पुरस्कारले नेपालीलाई संसारको मानचित्रमा नेपालले राम्रो काम गर्दा रहेछ भन्ने देखाएको छ । नेपालीको गौरव बढाएको छ । आफ्नो क्षेत्रबाट नेपालीको आत्मसम्मान, प्रतिष्ठालाई बढाउन उनले पु¥याएको योगदान अतुलनीय रहेको छ ।
हालै प्रधानमन्त्री पुष्पकमल दाहालले तिलगंगा आँखा अस्पताललाई विश्वविद्यालयका रूपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । तिलगंगा आँखा केन्द्रका निर्देशक डा. रुइतले प्रधानमन्त्री दाहालसँग भेट गर्ने क्रममा यससम्बन्धी चासो राखेपछि प्रधानमन्त्री दाहालले त्यस्तो प्रतिबद्धता व्यक्त गरेका थिए । उनले भनेका थिए, ‘तिलगंगा अस्पताललाई विश्वविद्यालयका रूपमा विकास गर्न अत्यन्तै सकारात्मक छु । यससम्बन्धी आवश्यक नीतिगत सुधारका लागि आवश्यक पहल हुन्छ ।’
भेटका अवसरमा प्रधानमन्त्री दाहालले मानवीय सेवाका लागि डा. रुइतले हालै मात्र बहराइन सरकारद्वारा प्रदान हुँदै आएको ‘इसा अवार्ड’ प्राप्त गरेकोमा बधाई दिँदै यो सम्मानले नेपालको शिर उच्चो राखेको बताए ।‘यो अवार्डले देशकै सम्मान बढाएको छ । नेपालमा अन्तर्राष्ट्रियस्तरका दक्ष जनशक्ति छन् भन्ने सन्देश दिएको छ,’ उनले भनेका छन्, ‘मानवीय सेवाका लागि तपाईंको योगदानको कदर देशकै कदर हो ।’
प्रधानमन्त्री दाहालले आँखाको उपचारका लागि सरकारका तर्फबाट आवश्यक अन्य सबै सहयोग गर्नेसमेत प्रतिबद्धता व्यक्त गरेका थिए । उक्त भेटका अवसरमा डा. रुइतले आँखा उपचारको क्षेत्रमा नेपालले नमूना काम गरेको बताउँदै मोतीयाबिन्दुको उपचारका लागि नेपालमा नै औषधि उत्पादन गर्न सकिने सम्भावनाबारे जानकारी गराएका थिए ।
साँच्चै नै डा. रुइतले नमूना काम गरेका छन् । उनी थोरै नेपालीहरुमध्येका एक हुन्, जसले राज्यको मुख नताकि निरन्तर आफ्नो कर्ममार्फत राष्ट्रलाई चिनाउने काम गरे । यस कारण उनीजस्ता व्यक्तित्वप्रति सम्मान र साथ दिनुपर्छ । प्रधानमन्त्री दाहालले तिलगंगा अस्पताललाई विश्वविद्यालय बनाउने घोषणा गर्नु सकारात्मक छ ।
तर, के साँच्चै यो कार्यान्वयनमा आउला ? भन्ने आशंका जन्माएको छ । यदि कार्यान्वयनमा आए भने यसले पक्कै पनि नयाँ हौसला थप्नेछ । डा. रुइतले जस्तै राज्यलाई विश्वमाझ चिनाउने काममा लाग्न युवाहरुलाई प्रेरित गर्नेछ ।
प्रकाशित मिति: सोमबार, माघ ९, २०७९ ०९:१९