काठमाडौं– नेपालमा २०६६ माघ ५ गते राष्ट्रियस्तरमा कुष्ठरोग निवारण घोषणा भएपनि १७ जिल्लामा अझै निवारण नभएको स्थिति छ । निवारण भन्नाले प्रति १० हजार जनसंख्यामा एकभन्दा कम बिरामी भएको अवस्थालाई बुझिन्छ ।
सरकारले सन् २०२० को अन्तसम्म सम्पूर्ण जिल्लामा कृष्ठरोग निवारण गर्ने लक्ष्य लिएको छ । तराईका झापा, मोरङ, उदयपुर, बारा, धनुषा, महोत्तरी, पर्सा, रौतहट, सर्लाही, सिराहा, बाँके, बर्दिया, कपिलवस्तु, नवलपरासी पश्चिम, रूपन्देही, कैलाली र अछाम कुष्ठरोगको प्रकोप दर एकभन्दा बढी भएका जिल्ला हुन् ।
महाशाखाले ६७औँ विश्व कुष्ठरोग दिवसका अवसरमा आइतबार आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा गत आर्थिक वर्षमा तीन हजार २८२ कुष्ठरोगका नयाँ बिरामी पत्ता लागेको जानकारी दिएको छ । उक्त तथ्यांकअनुसार प्रदेश नं २ मा सबैभन्दा बढी एक हजार ४८४, त्यसपछि प्रदेश ५ मा ७१९, प्रदेश १ मा ४७१, सुदूरपश्चिम प्रदेशमा २६६, वाग्मती प्रदेशमा १६५, कर्णाली प्रदेशमा ८९ र गण्डकी प्रदेशमा ८८ जना कुष्ठरोगका नयाँ बिरामी पत्ता लागेका हुन् । यसबाहेक गत आवको अन्त्यमा उपचारमा रहेका बिरामी संख्या दुई हजार ९२१ रहेको महाशाखाअन्तर्गतको कुष्ठरोग नियन्त्रण तथा अपांगता व्यस्थापन शाखाका निमित्त प्रमुख डा. उत्तम घिमिरेले जानकारी दिए । रासस
प्रकाशित मिति: सोमबार, माघ १३, २०७६ ०९:२९