काठमाडाैं - नेपालको वैदेशिक व्यापारका सबै सूचक घटेका छन् । भन्सार विभागले सार्वजनिक गरेको साउनदेखि पुससम्म अर्थात ६ महिनाको वैदेशिक व्यापारको तथ्याङ्क अनुसार वैदेशिक व्यापार, आयात, निर्यात र व्यापार घाटामा कमी आएको छ ।
६ महिनामा ८ खर्ब ७३ अर्ब ४७ करोड रुपैयाँको वैदेशिक व्यापार भएको छ । यो अघिल्लो वर्षको ६ महिनाको तुलनामा झण्डै २२ प्रतिशतले कमी हो ।त्यस्तै, ६ महिनामा सात खर्ब ९२ अर्ब ६६ करोड रुपैयाँको सामान विदेशबाट आयात भएको छ । यो अघिल्लो वर्षको ६ महिनाको तुुलनामा २० दशमलव ६८ प्रतिशतले कमी हो ।
यस्तै, नेपालले साउनदेखि पुससम्म ८० अर्ब ८० करोड रुपैयाँको सामान निर्यात गरेको छ, यो अघिल्लो वर्षको तुलनामा ३२ प्रतिशतले कमी हो ।६ महिनामा नेपालको व्यापार घाटा सात खर्ब ११ अर्ब ८५ करोड रुपैयाँ रहेको छ ।
अघिल्लो वर्षको ६ महिनाको तुलनामा यो वर्ष व्यापार घाटामा १९ दशमलव १५ प्रतिशतले कमी आएको भन्सार विभागले जनाएको छ ।नेपालले अघिल्ला वर्षहरुमा जस्तै, फलाम, पेट्रोलियम पदार्थ, खाद्यान्न, विद्युतीय सामग्रीलगायतका वस्तु आयातमा अर्बौँ रुपैयाँ बाहिर पठाएको छ ।
६ महिनामा २७ अर्ब ९१ करोड रुपैयाँको खाद्यान्न, १७ अर्ब रुपैयाँको तरकारी र ५२ अर्ब रुपैयाँको घिउतेल आयात भएको छ । यस्तै एक खर्ब ६४ अर्ब रुपैयाँको पेट्रोलियम पदार्थ, २२ अर्ब रुपैयाँको औषधि र मेडिकल सामग्री, ३० अर्ब ५९ करोड रुपैयाँका पलाष्टिकजन्य सामग्री, ३२ अर्ब रुपैयाँको मार्बल र टायल, ६३ अर्ब ६६ करोड रुपैयाँको फलाम, ४८ अर्ब ८९ करोड रुपैयाँको मेसिनरी सामग्री र ५१ अर्ब १० करोड रुपैयाँका विद्युतीय सामग्री आयात भएका छन् भने २६ अर्ब ४७ करोड रुपैयाँका गाडी भित्रिएका छन् ।
त्यस्तै निर्याततर्फ सात अर्ब रुपैयाँको चिया र कफी, २१ अर्ब रुपैयाँको घिउ तेल, १२ अर्ब रुपैयाँको खाद्यान्न तथा दुधबाट बनेका परिकार र २६ अर्ब रुपैयाँको तरकारी र फलफूल निर्यात भएको छ । झण्डै दुई अर्ब रुपैयाँ बराबरका काष्ठकलाका सामग्री पनि निर्यात भएको भन्सार विभागले जनाएको छ ।
प्रकाशित मिति: मंगलबार, माघ १०, २०७९ ०८:४१