काठमाडाैं - सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशमा आज पनि वर्षा र हिमपात भइरहेको छ । पश्चिमी निम्न चापीय प्रणालीको प्रभावका कारण अस्ति रातिदेखि यी प्रदेशका केही ठाउँमा वर्षा भइरहेको हो ।
यो प्रणाली पूर्वतर्फ सर्ने क्रममा रहेकाले आज गण्डकी प्रदेशमा पनि हल्का वर्षा र हिमपातको सम्भावना रहेको मौसमविद् समिर श्रेष्ठले जानकारी दिएका छन् ।
वर्षा भइरहेका ठाउँमध्ये बाजुरामा सबैभन्दा धेरै पानी परेको छ । त्यहाँ पछिल्लो २४ घण्टामा १६ मिलिमिटर वर्षा भएको मापन गरिएको छ । मौसमविद् श्रेष्ठका अनुसार अन्य प्रदेशमा भने पश्चिमी निम्न चापीय प्रणालीको प्रभाव पर्ने देखिएको छैन ।
यो प्रणाली आज बेलुकादेखि नै कमजोर बन्ने सम्भावना छ । यसले गर्दा पश्चिमी क्षेत्रमा वर्षा र हिमपात भए पनि बाग्मती, मधेस प्रदेश र प्रदेश १ मा वर्षाको सम्भावना तत्काललाई छैन ।
पर्सि बेलुकादेखि फेरि अर्को निम्न चापीय प्रणाली भित्रने सम्भावना रहेको र यो पनि पश्चिमी क्षेत्रमा नै बढी सक्रिय हुने देखिएको मौसमविद् समिर श्रेष्ठले बताएका छन् ।
काठमाडाैंसहित बाग्मती प्रदेश, मधेस प्रदेश र प्रदेश १ मा पर्सिसम्म वर्षाको कुनै सम्भावना छैन । जल तथा मौसम पूर्वानुमान महाशाखाले तीन दिनसम्मको मौसमी अवस्थाबारे पूर्वानुमान गर्दै आएको छ ।
यस्तै, पानी नपरे पनि काठमाडाैं उपत्यकासहित पहाडी जिल्लामा आज बादल लाग्ने अनुमान छ । पश्चिमी निम्न चापीय प्रणालीकै प्रभावका कारण उपत्यकासहित पहाडी क्षेत्रको मौसम आंशिकदेखि सामान्य बदली हुने अनुमान रहेको मौसमविद्ले बताएका छन् ।
प्रकाशित मिति: बुधबार, माघ ११, २०७९ ०८:३६