काठमाडौं– उपप्रधान एंव गृहमन्त्री रवि लामिछानेले आफैंलाई आगो लगाएर जलाउने प्रेमप्रसाद आचार्यलाई श्रद्धाञ्जली दिँदै माफ मागेका छन् । लामिछानेले उनको आत्माको चीर शान्तिको कामना समेत गरेका छन् । गृहमन्त्री लामिछानेले बुधबार बिहान सामाजिक सञ्जालमा एक पोष्ट मार्फत आचार्यलाई श्रद्धाञ्जली दिएका हुन् ।
मंगलबार दिउँसो बानेश्वरस्थित संसद भवनअगाडि आफ्नै शरीरमा आगो लगाएका इलामका आचार्यको उपचारका क्रममा कीर्तिपुर अस्पतालमा मृत्यु भएको हो ।
आचार्यलाई गृहमन्त्री लामिछानेले यस्तो लेखेका छन् ः
एउटा नागरिकले अत्मदाह गर्नु पर्ने परिस्थितिको वर्णन गर्न अब के नै बाँकी रह्यो र। यस्तै परिस्थितिका कारण शान्त विद्रोह गरेर हामी हिजो भर्खर राजनीतिमा र आज भर्खर सरकारमा सामेल छौं। मलाई थाहा छ, आत्मदाहको निर्णय हिजोदेखिको निराशा र पीडाको परिणाम हो। दुस्ख त मलाई यसमा लागेको छ कि हामीजस्ता नयाँहरूको आगमनले समेत तपाईंमा उत्साह थप्न सकेन, आशा जगाउन सकेन, आत्मदाहको निर्णय फेर्न सकेन। यसमा हामी दोषी छौं, म दोषी छु। प्रेम आचार्यजी, नयाँ राजनीतिक दल र नेताको रूपमा तपाईंमा आशा जगाउन सकेनौं, हामीलाई माफ गर्नुहोला। तपाईंको आत्माले चीर शान्ति पाओस् ,परिवारलाई यो पीडा सहने शक्ति मिलोस्।
प्रकाशित मिति: बुधबार, माघ ११, २०७९ १०:३६