साँखु – काठमाडौं उपत्यकाको पुर्वोत्तर सहर साँखुबाट ४०० वर्ष पुरानो ज्योतिर्लिङ्गेश्वर महादेवको मूर्ति चोरी भएको छ । साल्खा महादेवस्थानको नामले चिनिने सुनको जलप लगाएको तामाको प्रतिमूर्ति साँखुका मूल पुरोहित सुदनराज राजोपाध्यायको घरबाट गएराति चोरी भएको हो । जनैपूर्णिमाको जात्रामा पूजा गरिने अन्दाजी २.५ फिटको चतुर्मुखी ज्योतिर्लिङ्गेश्वर महादेवको मूर्ति मध्यरातमा घरबाटै चोरी भएको पूजारी राजोपाध्यायले बताए । भूकम्पले मूर्ति राख्ने घर भत्किएपछि पूजारीकै घरमा मूर्ति राख्ने गरिएको थियो ।
पूजारीको काका नाता पर्ने आनन्दराज राजोपाध्याय राति शौचालय जान खोज्दा घरको ढोकामा बाहिरबाट चुकुल लगाएको पाएपछि उनी झ्यालबाट बाहिर निस्किएर हेर्दा मूर्ति राखिएको कोठाको ढोका खुल्ला देखेपछि चोरी भएको थाहा पाएको राजोपाध्यायले बताए । घरका अरु कोठामा समेत बाहिरबाटै चुकुल लगाएको पाइएपछि महादेवको मूर्ति राख्ने कोठामा गएर हेर्दा मूर्ति नदेखेपछि उनले तत्कालै छिमेकी र प्रहरीलाई खबर गरेको बताए । घरको पर्खालमा रहेको गमला फुटेको र पर्खालसँगै मूर्तिमा रहेको महादेवको नाग भेटिएकाले घरको पर्खाल चढेर मूर्ति चोरेको हुनसक्ने शङ्का गरिएको छ । मूर्ति राखिएको पूजारीको घरमा स्वस्थानीका व्रतालुसमेत बस्ने गरेको सो घरमा व्रतालुलाई आवतजावतमा समस्या नहोस् भनी मूलद्वारमा तालासमेत लगाउने नगरिएको राजोपाध्याय बताउँछन् ।
चोरीको खबर पाएलगत्तै प्रहरी परिचालन गरिएको महानगरीय प्रहरी प्रभाग साँखुले जानकारी दिएको छ । ज्योतिर्लिङ्गेश्वर महादेव ६४ लिङ्गेश्वरमध्ये ३४औँ लिङ्गेश्वरका नाममा चिनिन्छ । यस ठाउँमा माधवनारायण तथा ज्योतिर्लिङ्गेश्वर महादेवको व्रत बस्ने व्रतालु शिवरात्रिका दिन जाग्राम बस्दछन् । उक्त दिन जाग्राम बसेपछि मात्रै माधवनारायण व्रतका क्रममा आफूले इच्छा गरेको पूरा हुने जनविश्वास रहिआएको छ ।
प्रकाशित मिति: सोमबार, माघ १३, २०७६ १७:०४