काठमाडौं– प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले नेपाल प्रहरी अस्पताल स्कूल अफ हेल्थ साइन्सेज शैक्षिक कार्यक्रम तथा जेष्ठ प्रहरी अतिथि गृह भवन बिहीबार नेपाल प्रहरी अस्पताल महाराजगंजमा आयोजित एक समारोहवीच उद्घाटन गरेको छ ।
साथै उनले नवनिर्मित भवनको निरीक्षण गर्नुका साथै भवन परिसरमा वृक्षरोपण समेत गरेका छन् ।
उक्त अवसरमा प्रहरी महानिरीक्षक सिंहले नेपाल प्रहरी अस्पताल स्कूल अफ हेल्थ साइन्सेज कार्यक्रममा आवद्ध रही व्यवस्थापन कार्यमा सहयोग पुर्याउनले प्राविधिक प्रहरी उपरीक्षक रामेश्वर अधिकारी, प्राविधिक प्रहरी नायव उपरीक्षक निर्माला रायमाझी र प्रहरी नायव निरीक्षक पुलव राज गिरीलाई पुरस्कार प्रदान दिए । उनले पुस महिनाको उत्कृष्ट प्राविधिक प्रहरी नायव उपरीक्षक डा। अविनाश ध्वज जाशी र प्रहरी सहायक निरीक्षक हरिहर थापा समेतलाई पुरस्कार प्रदान गरे।
समारोहलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक सिंहले सर्वसाधारण र नेपाल प्रहरीका वाहालवाला तथा अवकाश प्राप्त प्रहरी कर्मचारीका सन्ततीहरूको वृत्ति बिकास गरी विकसित र समृद्ध राष्ट्र निर्माणमा आवश्यक पर्ने दक्ष जनशक्ति उत्पादन गर्न नेपाल प्रहरी अस्पताल स्कूल अफ हेल्थ साइन्सेज शैक्षिक कार्यक्रम सार्थक हुने विश्वास व्यक्त गरे। प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषदबाट प्रमाणपत्र तह नर्सिङ कार्यक्रम संचालन गर्न सम्बन्धन प्राप्त यस शैक्षिक संस्थालाई समयसापेक्ष स्तरोन्नति गराउँदै चिकित्सा शास्त्र अध्ययन अध्यापन गराउने देशकै नमूना शिक्षण संस्थाको रूपमा विकास गर्दै लैजानु पर्ने उनले बताए।
प्रहरी महानिरीक्षक सिंहले नेपाल प्रहरी कल्याण कोषको सहयोगमा नवनिर्मित जेष्ठ प्रहरी अतिथि गृहले उनीहरुको अपेक्षालाई सम्मान र सम्बोधन गर्दै नेपाल प्रहरी अस्पतालबाट दैनिक रूपमा सेवा सुबिधा प्राप्त गर्ने कुल संख्यामध्ये करिब ४० प्रतिशत अवकाश प्राप्त प्रहरी कर्मचारीहरू लाभान्वित हुने गरेको तथ्यले समेत पूर्व प्रहरी कर्मचारीहरूको सेवामा नेपाल प्रहरी अस्पताल प्रतिबद्ध रहेको सन्देश दिएको उल्लेख गरे । नेपाल प्रहरीका कर्मचारीहरूमा यस अतिथि गृहले संगठनप्रति सकारात्मक दृष्टिकोण बिकास गर्ने विश्वास उनले व्यक्त गरे ।
विरामी वा सेवाग्राहीको दर्जा हेरेर र पहुँचको आधारमा मात्र सेवा प्रवाह गरियो भने कुनै सार्थकता नहुने बताउँदै प्रहरी महानिरीक्षक सिंहले भने, ‘अस्पतालबाट प्रदान गरिने सेवाहरूमा स्वास्थ्य अवस्थाको आधारमा सम्पूर्ण प्रहरी कर्मचारी र सर्वसाधारणको उत्तिकै सरल र सहज पहुँच हुनुपर्छ ।’ नेपाल प्रहरी अस्पताल स्कूल अफ हेल्थ साइन्सेज शैक्षिक कार्यक्रम तथा जेष्ठ प्रहरी अतिथि गृहको प्रभावकारी संचालनको लागि आवश्यक कार्यविधि र मापदण्ड तयार गरी यसलाई थप व्यवस्थित र सुविधा सम्पन्न बनाउन अस्पताल प्रशासनलाई उहाँले निर्देशन समेत दिए ।
प्रकाशित मिति: बिहीबार, माघ १२, २०७९ १३:१२