काठमाडाैं - आम उपभोक्ताको दैनिक खाद्यान्नको रुपमा बजारमा पाइने मैदा/आँटाको चरम अभाव भएको छ । भारत सरकारले २०७९ बैशाख ३० गतेदेखि गहुँ आयातमा लगाएको प्रतिबन्धका कारण बजारमा मैदा/आँटाको चरम अभाव भएको हाे ।
मैदा/आँटा कच्चा पदार्थको रुपमा प्रयोग हुने बिस्कुट, चाउचाउ, बेकरी, तन्दुुरी/नान, भोजनालय, रेष्टुरेण्ट लगायत ठुला–साना सबै होटललाई माग अनुसारको मैदा/आँटा मैदा उद्योगले उपलब्ध गराउन नसक्दा बजारमा चरम अभावको अवस्था सिर्जना भएकोले कसरी मैदा/आँटा उपलब्ध गराउने भनी मैदा व्यवसायी चिन्तित भएका छन् ।
आम उपभोक्ताको दैनिक खाद्यान्नको रुपमा चामलको सट्टा स्वस्थलाई ध्यानमा राखी रोटी खाने बानीको विकास भएकोले वहाँहरुलाई समेत प्रत्यक्ष प्रभाव पर्ने भएको छ ।भारत सरकारको प्रतिबन्ध पश्चात मैदा उद्योगले बजारबाट महँगो मुल्यमा गहुँ खरिद गरिरहेको हँंदा मैदा/आँटाको मुल्य बढिरहेकाले उपभोक्ता लगायत सबै क्षेत्रलाई प्रभाव परिरहेको जानकारी सरकारलाई संघले दिँदै आएको छ ।
अहिले पछिल्लो समयमा बजारमा गहुँ नै छैन, जसको कारण देशभरिका ८० प्रतिशत मैदा उद्योग नै बन्द हुने अवस्थामा पुगेका छन् भने बाँकी उद्योगहरु पनि एक हप्तामा पूर्ण बन्द हुने अवस्थामा छ । मैदा उद्योगले बजारमा मैदा/आँटा दिन सक्ने अवस्था नै छैन ।
यो विषम परिस्थितिबाट केही हदसम्म राहत पाउन तोकिएको कोटा तुरुन्त पाउनुपर्ने देखिएकाे छ । नेपाल मैदा उद्योग संघले सरकारसँग भारत सरकारले दिएको पचास हजार मेट्रिक टन गहुँ तुरुन्त मगाउन अनुरोध गरेका छन् ।
बाँकी ३ महिनाको लागि ३८ वटा उद्योगको लागि लगभग २ लाख मेट्रिक टन गहुँ आवश्यक पर्ने व्यवसायीले बताएका छन् । गहुँ उपलब्ध भएमा यहाँका उद्योग चल्ने र सबै क्षेत्रलाई फाईदा पुग्ने हुँदा मैदा आयातको सट्टा गहुँ आयात गर्न तुरुन्त प्रक्रिया अगाडि बढाईदिन समेत नेपाल सरकार समक्ष संघले अनुरोध गरेकाे छ ।
प्रकाशित मिति: बिहीबार, माघ १२, २०७९ १७:०८