आमनिर्वाचनपछि नयाँ सरकार गठन भएको एक महिना बितेको छ । भर्खरै मन्त्रिपरिषद्ले पूर्णतः पाएको छ । नयाँ सरकारले काम सुरु गर्दै गर्दा जनताले भोग्नुपरेका पीडा तथा जनतामा छाएको निराशा विभिन्न रुपमा प्रकट हुन थालेका छन् । मुख्यतः मुलुकको राजनीति अस्थिरता, बेरोजगारी, व्यवसाय सञ्चालनमा रहेको कठिनाइलगायतका कारण जनता आजित बनेको प्रस्ट हुन्छ । त्यसैको एक उदाहरण हो, प्रेमप्रसाद आचार्यको आत्मदाह ।
इलामका व्यवसायी आचार्यले मंगलबार दिउँसो नयाँ बानेश्वरस्थित सडकमा आफ्नै शरीरमा आगो लगाएर आत्मदाहको प्रयास गरेका थिए । त्यसपछि उनलाई उद्धार गरी कीर्तिपुरस्थित बर्न अस्पतालमा लगिएको थियो । त्यहाँ उपचारका क्रममा बुधबार बिहान ५ बजे उनको निधन भएको थियो ।
उनले आफ्नो शरीरमा आगो लगाउनुअघि सामाजिक सञ्जाल फेसबुकमा लामो स्टाटस लेखेर आफूले भोगेका घटना उल्लेख गरेका थिए । स्वदेशमै केही गर्न खोज्दा कसैको साथ नपाएको भन्दै उनले गम्भीर विषय उठान गरेका छन् । करिब छ हजार शब्द लामो फेसबुक स्टाटस लेखेका उनले देशको स्थिति र आफूले भोग्नुपरेको सास्तीका विषयबारे उठान गर्दै विभिन्न बुँदाहरुमा सरकारलाई सुझाव दिएका थिए ।
आचार्यले लेखेका शब्दहरु, उठाएका विषयहरु उनीसँग मात्रै सम्बन्धित छैनन् । यसले आमनेपाली जनता, जो स्वदेशमै केही गरेर मुलुकलाई योगदान दिन चाहन्छन्, उनीहरुले भोगेका पीडालाई प्रतिनिधित्व गरेको छ । मुलुकमा व्याप्त चरम बेथितिलाई उजागर गरेको छ । यसप्रति राज्य अब पनि गम्भीर नबन्ने हो भने आचार्यको जस्तो घटना विकराल बन्दै जाने देखिन्छ । यद्यपि, यसतर्फ सरकारको ध्यानाकर्षण भएको देखिएको छ ।
मृतक आचार्यले उठाएका विषयमा सरकारले छानबिन गर्ने भएको छ । बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले आचार्यले उठाएका विषयमा छानबिन गर्ने र छानबिनको निष्कर्षपछि आवश्यक कदम चाल्ने निर्णय गरेको छ । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले दिएको जानकारीअनुसार उक्त विषयमा गृह मन्त्रालयले नै तदारुकताका साथ छानबिन गर्ने र सत्यतथ्य बाहिर आइसकेपछि आवश्यक कदम चाल्ने निर्णय भएको छ ।
मन्त्रिपरिषद्ले उक्त विषयमा छानबिन गरी यथाशीघ्र प्रतिवेदन पेस गर्न गृह मन्त्रालयलाई जिम्मेवारी दिने निर्णय गरेको हो । साथै, मृतक आचार्यको परिवारलाई राहत उपलब्ध गराउनेबारे निर्णय गर्ने जिम्मेवारी पनि गृह मन्त्रालयलाई नै दिइएको जानकारी दिइएको छ ।
सरकारले छानबिन गर्नु सकारात्मक भए पनि यो औपचारिकताका लागि सीमित हुने आशंका छ । किनभने विगतमा भएका यस्ता छानबिन नभएका होइनन् । छानबिनका प्रतिवेदन बुझेपछि दराजमा थन्क्याउने प्रवृत्ति छ । यो फेरि नदोहोरियोस् भन्नेमा सरकार सचेत बनोस् । साथै, आचार्यको घटना हुन रोक्न सरकार गम्भीर बन्नैपर्छ । आचार्यले छाडेका प्रश्नहरुको जवाफ पनि सरकारले दिन पनि जरुरी छ ।
प्रकाशित मिति: बिहीबार, माघ १२, २०७९ १८:४१