काठमाडौं– पाकिस्तानी रुपैयाँ इतिहासकै कमजोर भएको छ । बजारले अनौपचारिक नियन्त्रणहरू हटाउन समायोजन गरेपछि पाकिस्तानी रुपैयाँमा गिरावट आएको हो । बिहीबार पाकिस्तानी बजारमा अमेरिकी डलरको तुलनामा इतिहासकै कमजोर सावित भएको पाकिस्तानी रुपैयाँको मूल्यमा शुक्रबार झन् गिरावट आएको छ ।
शुक्रबार स्थानीय समयअनुसार बिहान साढे १० बजे १ डलरको सटही दर २६४ रुपैयाँ पुगेको छ । बिहीबारको तुलनामा शुक्रबार पाकिस्तानी मुद्राको मूल्यमा ३.३६ प्रतिशतले गिरावट आएको हो ।
बिहीबार पाकिस्तानमा डलरको मूल्य २५५ रुपैयाँ पुगेको थियो जुन सन् १९९९ मा नयाँ सटही दर प्रणाली लागू भएपछिको सबैभन्दा कमजोर सावित भएको हो ।
बढ्दो महँगी र वैदेशिक मुद्राको सञ्चितिमा कमी भएकाले अमेरिकी डलरको तुलनामा पाकिस्तानी मुद्रा निकै कमजोर बनेको हो । विदेशी मुद्राको सञ्चिति कम भएपछि र डलर बलियो हुन थालेपछि एक्सचेन्ज कम्पनिज एसोसियसन अफ पाकिस्तानले डलरको भाउ स्थिर राख्ने प्रयास गरेको थियो ।
सरकारले पनि बजारमा देखिएको अराजकता नियन्त्रणका लागि भन्दै अन्तरबैंक दर स्थिर राखेको थियो । एक्सचेन्ज कम्पनीले कालोबजारी, अन्तरबैंक र खुलाबजारमा देखिएको भाउको अन्तर अन्त्य गर्ने आफूहरूको उद्देश्य भएको जनाएका थिए । पाकिस्तानी अर्थमन्त्री इसहाक डारले नियुक्तिलगत्तै डलरको मूल्य २०० रुपैयाँभन्दा नबढ्ने दाबी गरेका थिए ।
प्रकाशित मिति: शुक्रबार, माघ १३, २०७९ १२:१७