काठमाडौं- गायक सन्तोष दुमी राईको एकल गायन साँझ सम्पन्न भएको छ । सङ्गीतकार/गायक राईको जन्मदिनको अवसर पारेर यही माघ १४ गते ‘सन्तोष दुमीसँग एक साँझ’ सम्पन्न भएको हो ।
‘दुमी किराँत राई फन्सिकिम’ को आयोजनामा ‘दुमी गीत–सङ्गीत कोष’ को सहयोगार्थ सङ्गीतकार तथा गायक राईको एकल साँझ आयोजना भएको हो ।
करिव २ दशक अघिदेखि सङ्गीतकार एवं गायकको रुपमा निरन्तर क्रियाशील रहेका राईका सङ्गीत र स्वरमा हालसम्म ५०० भन्दा बढी गीत रेकर्ड भईसकेका छन् । खोटाङ जन्मथलो भएका राईले यसअघि सन् २०१२ मा पनि हङकङमा एकल साँझ गरिसकेका छन् ।
गायन साझमा आफ्ना कूल गीत मध्येबाट ‘घामले आँखा खोलिसक्यो’, ‘मुस्कुराई बस तिमी’, ‘साल्पै राजा’, ‘रातभरि जून रुँदा’, ‘निलो आकाश उडिहिँड्ने’, ‘तिम्ले छोडी गएपछि’ लगायतका दर्जन भन्दा बढी गीतहरु संगितकार तथा गायक राईले प्रस्तुत गरेका छन् ।
२५ वर्ष अघि स्थापित ‘दुमी किराँत राई फन्सिकिम’ ले यस प्रकारको कार्यक्रम पहिलोपटक आयोजना गर्न लागेको बताउँदै करिब ४ वर्ष अघि स्थापित ‘दुमी गीत–सङ्गीत कोष’ ले अवसरबाट बञ्चित प्रतिभाशाली दुमी प्रतिभाहरुलाई प्रोत्साहित गर्ने उद्देश्य राखेको जनाएको छ ।
प्रकाशित मिति: आइतबार, माघ १५, २०७९ १७:०९