कास्की- गण्डकी चेम्बर अफ कमर्सले प्रदेशमा आइडिया बैङ्क स्थापना गर्ने निर्णय गरेको छ । गण्डकी चेम्बर अफ कमर्सको आठौँ कार्यसमिति बैठकले ‘सोचबाट उद्यमशीलता’ भन्ने प्रमुख लक्ष्यसहित गण्डकीमा आइडिया बैङ्क स्थापना गर्ने निर्णय गरेको हाे ।
चेम्बर गण्डकीका अध्यक्ष किसान सुनारले गण्डकी प्रदेशभित्र स्थापना भएका उद्योग व्यवसायलाई थप व्यवस्थित र वस्तु तथा सेवाको व्यावसायिक प्रवद्र्धन गर्ने प्रमुख लक्ष्य भएकाे बताएका छन् ।“ आइडिया बैङ्क स्थापना भएसँगै नयाँ उद्यम गर्न चाहने र विदेशबाट ज्ञान सीप सिकेर पुँजी लिएर आएका उद्यमीलाई विशेष सहयोग पुग्छ,” उनले भने ।
देशमा भएका बेरोजगार युवालाई स्वरोजगार सिर्जना गर्न चेम्बरले तीन तहको सरकारसँग सहकार्य गर्न आइडिया बैंकले सहयोग गर्ने उनले बताए । बैठकले गण्डकी प्रदेशमा फ्री हटलाइन नम्बर हेलो चेम्बर हेल्प डेस्क स्थापना गर्ने निर्णय गरेको छ ।
यस्तै चेम्बर गण्डकीले एक पालिका एक उत्पादन र उत्पादित वस्तुको बजारीकरण गर्ने निर्णयसमेत गरेको छ । सीप सिकेर स्वदेशमा नै कृषि व्यवसाय गर्न चाहने तथा कृषि पेसामा सीप सिकेर विदेश जान इच्छुक व्यक्तिलाई आवश्यक तालिम प्रदान र विदेशबाट फर्र्किएका युवालाई कृषि तालिम दिएर कृषिमा आबद्धता गर्ने निर्णयसमेत गरेको छ ।
प्रकाशित मिति: सोमबार, माघ १६, २०७९ ०८:११