नेपालगन्ज । ९ बर्ष अघि दिवंगत बासकी पूर्ब केन्द्रीय रुक्मिणी शाहको ९ औं बार्षिक पूण्यतिथीमा बासले निल सागर बृद्धाश्रम नेपालगञ्जमा आश्रित जेष्ठ नागरिकहरुलाई दैनिक उपभोग्य खाद्यान्न सामाग्रिहरु हस्तान्तरण गरेको छ ।
निल सागर बृद्धाश्रम नेपालगञ्जमा आयोजित कार्यक्रममा उक्त सहयोग हस्तान्तरण गरिएको हो । शाहको सम्झनामा बासले स्थापना गरेको रुक्मिणी स्मृति अक्षय कोषबाट १५ किलो चिनि, १० प्याकेट बिस्कुट, २ प्याकेट ट्याँक, १५ थान लिँचि जुस र १० प्याकेट मिक्स भुजा सहयोग प्रदान गरिएको हो । बासका अध्यक्ष मन भण्डारी, कार्यकारी निर्देशक नमस्कार शाह लगाएत बास पदाधिकारीहरुले बृद्धाश्रमकी अध्यक्ष सरिता खनाल र प्रबक्ता नारायण सुवेदीलाई उक्त सामाग्रि हस्तान्तरण गरेका हुन् । कार्यक्रममा बासका कार्यकारी निर्देशक तथा दिवँगत रुक्मिणीका दाजु नमस्कार शाहले दिवंगत शाहको बारे बोल्दै बहिनीको सम्झनामा बिभिन्न सामाजिक कार्यहरु गरिरहेको बताए ।
बासकी पूर्ब उपाध्यक्ष उमा थापा मगरले कार्यक्रममा बोल्दै मृदुभाषि, अनुशासित रुक्मिणीको सामाजिक योगदानलाई जिवन्त बनाउन सामाजिक कार्य गर्दै आएको बताईन् । शाहको सम्झनामा केही राम्रो काम गर्ने प्रयास बासले गरेको उनले बताईन् । बासका पूर्ब सहसचिव बिबेक पराजुलीले शाहको ईमान्दारिता सदैब सम्झन लायक पक्ष भएको बताए । बासकी मध्यमाञ्चल उपाध्यक्ष राधिका गिरीले कलिलो उमेरमा ज्यान गुमाउन बाध्य रुक्मिणीको सम्झनामा सामाजिक कार्य बासले गर्दै आएको उल्लेख गर्दै अपराधिक क्रियाकलापबाट कोही पनि महिलाहरुले दुःख नपाउन् भन्नका लागि जनचेतना अभिबृद्धि गर्नुपर्ने बताईन् । शाहको सामाजिक योगदानलाई अविश्मरणिय बनाउन जरुरी रहेको उनको भनाई थियो । आईएनएफ बाँकेका प्रमुख जीवन गिरीले रुक्मिणीको घटनाबाट कोही पनि महिला सुरक्षित नरहेको महसुस हुने गरेको बताए । उनले रक्मिणीको स्मृतिमा बासले सामाजिक कार्य गर्दै आएकोमा धन्यवाद ज्ञापन गरे ।
बासका अध्यक्ष मन भण्डारीले सञ्चालन गरेको कार्यक्रममा बृद्धाश्रमकी अध्यक्ष सरिता खनालले आफ्नो परिवारमा घटेको दुःखद घटनाकै कारण बृद्धाश्रम स्थापना गरि जेष्ठ नागरिकहरुको सेवा गर्न अग्रसर भएको बताईन् । बासले पूर्ब केन्द्रीय सदस्यको सम्झनामा बृद्धाश्रमलाई सहयोग गरेको भन्दै धन्यवाद ज्ञापन गरिन् । बासका पदाधिकारी, सदस्य, कर्मचारी तथा स्वयंसेवकहरुको सहभागितामा सम्पन्न उक्त कार्यक्रममा शाहको सम्झनामा एक मिनेट मौनधारण गरिएको थियो । गत बर्ष बासले सरस्वती उच्च मा.वि. को कक्षा ९ मा अध्ययनरत सरस्वती चौधरीलाई नगद सहित स्टेशनरी प्रदान गरेको थियो भने चौधरीलाई गत बर्ष देखि बिद्यालय पठन, पाठनका लागि लाग्ने सबै खर्च बासले उक्त अक्षय कोषबाट व्यहोर्दै आएको छ । उनलाई केही दिन अघि बासले माईती नेपालसँगको सहकार्यमा शाईकिल पनि प्रदान गरेको थियो ।
शाहको सम्झनामा स्थापित अक्षयकोषबाट अशक्त, अपाँगता भएका व्यक्ति, आर्थिक अभाब भएका बालबालिका, जेष्ठ नागरिक, हिँसामा परेका महिलाहरुलाई बिभिन्न सहयोग प्रदान गरिदै आएको छ । शाहको स्मृतिमा बासले ५० हजारको रुक्मिणी स्मृति अक्षय कोष स्थापना गरेको छ । उक्त कोषबाट मध्य तथा सुदुरपश्चिम क्षेत्रका हिँसा पीडित महिलाहरुलाई आर्थिक सहयोग गर्ने उद्धेश्य लिईएको छ । स्मरण रहोस् २०६५ बैशाख २७ गते खासकाँरकाँदौमा बास पूर्ब केन्द्रिय सदस्य रुक्मिणी शाहका पति लगाएतले उनको दिउसै हत्या गरेका थिए । पूनरावेदन अदालतले अभियुक्तलाई सर्वश्व सहित जेल सजायको फैसला गरिसकेको छ ।
प्रकाशित मिति: बिहीबार, वैशाख २८, २०७४ ११:३५