प्रजातन्त्र प्राप्तिका लागि जहाँनिया राणाशासनको विरुद्ध संघर्ष गरिरहँदा वि.सं. १९९७ मा चार जनाले आफ्नो प्राण आहूति गरे । धर्मभक्त माथेमा, शुक्रराज शास्त्री, दशरथ चन्द र गंगालाल श्रेष्ठ । उनै सहिदहरुका कारण मुलुक प्रजातन्त्र हुँदै आज गणतन्त्रसम्म आइपुगेको छ । तर, सहिदहरुको सम्मान हुन सकिरहेको छैन । हरेक वर्ष सहिद दिवस मनाउने गरिन्छ । शासकवर्गले सहिदको आदर्शलाई भने बोक्न सकेनन् । सहिद दिवसको सन्दर्भ पारेर सहिदको आदर्श र सपना किन पूरा हुन सकेन भन्ने विषयमा सहिद धर्मभक्त माथेमाका भतिज एवं त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति डा. केदारभक्त माथेमासँग प्रभाव राष्ट्रिय दैनिकका लागि वैकुण्ठ भण्डारीले गरेको कुराकानीको अंशः
आज सहिद दिवस मनाइरहँदा सहिद परिवारको नाताले भन्नुपर्दा अहिलेसम्म आइपुग्दा सहिदका सपना पूरा भए ?
केही नभएको होइन भएको छ । नेपाली जनता सचेत भएका छन् । हामीले प्रजातन्त्र ल्याएका थियौं, गुमायौं र फेरि ल्यायौं । त्यो सबै नेपाली जनताको संघर्षका कारणले नै हो । नेपाली जनताको स्वास्थ्यको कुरा, शिक्षाका कुरा सुध्रिएको छ । धेरै मानिसहरु साक्षर भएका छन्, शिक्षित भएका छन् । तर, यसले चित्त बुझाउने काम मात्र भएको छ । यो सबै परिवर्तन प्रजातन्त्र आएका कारण मात्र हो । प्रजातन्त्र आउनुपूर्व विकासका काम दरबारभित्रको खर्चले भ्याएपछि मात्र मुलुकका विकासका लागि खर्च हुने गर्दथ्यो । कम्तीमा त्यो अहिलेसम्म आइपुग्दा परिवर्तन भने भएको छ । तर, हामीजस्ता व्यक्तिहरुले यसलाई चित्त बुझाउने र सहिदको सपना पूरा भयो भनेर भन्ने ठाउँ भने छैन ।
के हुनु पर्दथ्यो परिवर्तनहरु ?
खासमा भन्ने हो भने विकासले सबैलाई समेट्नुपर्ने थियो । सबै जनतालाई सँगसँगै लैजान सक्नुपथ्र्यो, त्यो देखिएको छैन । तर, विकासको ज्वारभाटा आएको जस्तो देखियो । केही व्यक्तिलाई मात्र यसले परिवर्तन गरिदियो । आमनागरिकको आर्थिक र सामाजिक अवस्थामा परिवर्तन देखिनुपर्दथ्यो ।
आफूले संघर्ष गरे पनि आमजनताले परिवर्तनको आभाष गर्न पाउन् भन्ने आदर्श चार जना सहिदको थियो, सहिदहरुले चाहेको परिवर्तन अहिलेको जस्तै हो ?
यो होइन । चार सहिदहरु सम्पन्न परिवारका हुनुहुन्थ्यो । उहाँहरुले आफूहरुलाई कहिल्यै सोच्नुभएन । उहाँहरुले आफूहरु सम्पन्न भए पनि सीमान्तकृत वर्गलाई सोच्नुभयो, सारा जनताको विकास हुनुप¥यो, केही परिवारको मात्र होइन भन्ने नै थियो । त्यसबेला राणाहरुलाई फाइदा थियो । उनका नजिक रहेका हामीजस्ता माथेमा, शाह, थापा बस्नेतहरुलाई पनि फाइदा भएकै थियो होला । यिनीहरुले सबै सुविधा लिएका पनि थिए । राणाहरुले विधिको शासन चलाएनन् भनेर नै जनताका लागि संघर्ष गर्नुभएको थियो । तर, अहिलेसम्म पनि जुन विधिको शासन बसाल्न खोजेका थियौं त्यो बसाल्न सकेको अवस्था रहेन ।
विधिको शासनमा मुलुक चल्नुपर्ने, भएन भन्ने चिन्ता हो ?
वास्तवमा त्यही नै हो । मुलुकमा राजनीतिकरण धेरै भयो, थिति बसाल्नुपर्नेहरुले बेथिति बसाले । राजनीतिक दलहरु हामीलाई चाहिन्छ किनकि मुलुक बनाउनका लागि दल इञ्जिनजस्तै हो । तर, उहाँहरु (दलका नेताहरु)ले हरेक कुरामा राजनीति गर्नुभयो, जसले बेथिति आयो । योग्य व्यक्ति हुँदाहुँदै पनि पार्टीभित्रको अर्को आफ्नो अयोग्य मानिसलाई ल्याएर पदमा राखिदिनुभयो । आफ्ना नजिकका नातागोतालाई राखिदिनुभयो । त्यसले गर्दा ठेक्कापट्टा सबै कुरामा सबैमा हालीमुहाली गर्ने बेथिति बस्यो । वास्तवमा भन्ने हो भने भ्रष्टाचारका रुप अहिले निकै डरलाग्दो भएर आएको छ । नेपालको विकासमा यो सबैभन्दा ठूलो बाधक बनेको छ । कुनै पनि देशको विकास गर्नका लागि आर्थिक अवस्था मजबुत हुनुपर्ने हुन्छ । त्यसका लागि आफ्नो आन्तरिक अवस्थाले मात्र भ्याउँदैन, बाहिर सहयोग लिनुपर्दछ । चीन, जापान, कोरिया, भियतनाम, सबैले त्यही नै गरेका हुन् । प्रत्यक्ष वैदेशिक लगानी (एफडिआई) भित्र्याउन सक्नुपर्दथ्यो । नेपालमा त्यसरी आउनुपर्ने एफडिआई जति आउनुपर्ने हो त्यो आएको छैन ।
तर, नेपालमा एफडिआई भित्र्याउन हुन्न भन्छन् नि ?
त्यसो होइन । कुनै पनि देश विकासका लागि एफडिआई भित्र्याउनुपर्दछ । लगानी नभइकन उत्पादन कसरी हुन्छ ? हामी आफैंले उत्पादन गर्ने र निर्यात गर्न सक्ने अवस्था अझै छैन । ३० वर्षअघि जति वैदेशिक लगानी भएको थियो अहिले पनि त्यत्तिनै छ । त्यसरी हुँदैन । नेपालमा किन वैदेशिक लगानी आएन भन्ने अनुसन्धान गर्नुभयो भने त्यसको एउटै कारण भनेको डरलाग्दो भ्रष्टाचार र बेथिति नै हो । त्यसकारण पनि लाखौं विद्यार्थीहरु विदेश पलायन भइरहेका अवस्था छन् । विदेशमा जाने हाम्रा युवाहरुले पढ्दै कमाउँदै गर्छन्, नेपालमा किन हुन सकेन ? त्यसको प्रमुख कारण भनेको यहाँ उत्पादन हुने कुनै वस्तु नै भएन । हामीले उत्पादनलाई ध्यान नै दिएनौं ।
तपाईंको भनाइ सहिदहरुले चाहेको जस्तो परिवर्तन भएन भन्ने हो ?
भएन, र सहिदहरुको आदर्शलाई कार्यान्वयन गर्नेतर्फ पनि कोही लागेन । अहिले शासन प्रणाली नै जनताले दुःख पाउने भयो । हामीजस्ता व्यक्ति सरकारी कामका लागि गयौं भने निकै नै दुःख पाउँछौं । जसको चिनजान छैन वा सोर्सफोर्स नभए केही पनि काम नबन्ने भयो । भर्खर आत्मदाह प्रकरणलाई हेर्ने हो भने सहिद परिवारको नाताले भन्छु, सहिदहरुले यस्तो चाहेको हुँदै होइन । खै न्याय ?
यसको मतलब सर्वसाधारणले न्याय पाइरहेका छैनन् ?
खै त न्याय पाएको ? देश हाँक्ने ड्राइभरहरुलाई त लाग्ला हामीले मुलुक राम्रैसँग हाँकिरहेका छौं तर त्यस्तो छैन । निकै नै भयावह अवस्थामा चलिरहेको छ । न्याय खोज्न जाने ठाउँ नै भएन । न्याय दिने मान्छे नै भएन । भ्रष्टाचार र बेथितिले जनतालाई आतंकित नै बनाएको छ ।
हरेक वर्ष सहिद दिवसको अवसरमा मुलुक हाँक्ने नेतृत्वहरुले सहिदको सपना पूरा गर्छाैं भन्दै आउनुभएको छ, तर अवस्था ज्यूँका त्यूँ नै छ, किन ?
भनेर भएन, कार्यान्वयन गर्न सक्नुपर्छ । सहिदहरुलाई हामी चाहेको छैन । उहाँहरु त आफ्नो प्राण आहूति दिएर बितिसक्नुभयो । हाम्रा नेतृत्व वर्गलाई सहिद चाहिएको छ । किनभने कर्मचारीतन्त्र होस्, राजनीतिकर्मी या व्यापारी नै किन नहुन्, सबैलाई सहिदको आदर्श आवश्यक छ । उहाँहरुले आफ्नो प्राण आहूति दिइरहँदा यो देशको परिवर्तन होस्, जनताले सुख पाउन् भन्ने थियो । तर, भएन । भ्रष्टाचार बढाउने, बेथिति बढाउने अनि सहिदको नाम जपिरहने कार्यले कदापि मुलुक समृद्ध हुँदैन । विदेशमा सहिदहरुका बारेमा स्कूल कलेजमा अध्ययनन गराइन्छ । उहाँहरुले दिनुभएको योगदानको चर्चा गरिन्छ र उहाँहरुको आदर्शलाई कार्यान्वयन गर्न लगाइन्छ । तर, आजसम्मको अवस्थालाई हेर्ने हो भने युवा पुस्ताले अहिलेको नेतृत्वलाई विश्वास नै गर्दैनन् । जसले बोल्छ मात्र काम गर्दैन भने त्यस्तालाई विश्वास किन ? भन्ने युवाहरुको धारणा बनिसकेको छ । सहिदका नाममा लुटतन्त्र नै भएको छ भन्दा फरक नपर्ला ।
प्रकाशित मिति: सोमबार, माघ १६, २०७९ १५:०२