
लस एन्जलस – अमेरिकी सुप्रसिद्ध बास्केटबल खेलाडी कोबे ब्रायन्टको आइतबार हेलिकप्टर दुर्घटनामा मृत्यु भएको छ । हेलिकप्टरमा सवार उनकी १३ वर्षीया छोरी जियानासहित सबै नौ जनाको मृत्यु भएको स्थानीय प्रहरीले जनाएको छ ।
एकचालीस वर्षीय ब्रायन्ट चढेको हेलिकप्टर लस एन्जलसको पश्चिमको कालाबासासको पहाडी भागमा दुर्घटनाग्रस्त भएको थियो । खोज तथा उद्धार टोली दुर्घटनास्थलमा तत्कालै पुगे पनि कसैलाई बचाउन सकेनन् । अमेरिकी बास्केटबल एसोसिएसनमा पाँच पटकका च्याम्पियन तथा दुई पटक ओलम्पिक स्वर्ण पदक विजेता ब्रायन्टलाई अमेरिकी इतिहासमा महान बास्केटबल खेलाडीका रूपमा लिइन्थ्यो । लस एन्जल्स लेकर्समा दुई दशक बिताएका ब्रायन्टलाई धेरै बास्केटबल खेलाडीका लागि पथप्रदर्शक र सम्मानका साथ हेरिन्थ्यो । लस एन्जल्सका अग्नि नियन्त्रकहरूले भिरालो पहाडी इलाकामा पुगेर उद्धारका कार्यमा जुटे पनि कसैलाई बचाउन नसकिएको राज्यको यातायात कार्यालयले जनाएको छ ।