काठमाडौं– सहिद स्मारक ‘ए’ डिभिजन लिगको नवौं चरणको खेल सोमबारबाट सुरु भएको छ । नवौं चरणको पहिलो खेलमा विभागीय डर्बी टिम नेपाल पुलिस क्लब र सशस्त्र प्रहरीको एपीएफ क्लबबीचको खेलमा पुलिसले बाजी मारेको छ भने दोस्रो खेलमा बलियो थ्रीस्टार क्लबलाई पराजित गर्दै मच्छिन्द्र क्लबले लिगको शीर्षस्थानमा उक्लिएको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सोमबार भएको खेलमा थ्री स्टार क्लबलाई २–० गोल अन्तरले पराजित गर्दै मछिन्द्र शीर्ष स्थानमा उक्लिएको हो । मछिन्द्रको जितमा रेजिन सुब्बा र विशाल राई ’बी’ ले एक एक गोल गरे । खेलको ३८ औं मिनेटमा सब्सिच्युड खेलाडी रेजिनले गोल गर्दै मछिन्द्रलाई अग्रता दिलाएका थिए । रेजिन २८ औं मिनेटमा दिपक राईको स्थानमा मैदान प्रवेश गरेका थिए । त्यसपछि खेलको ९० औं मिनेटमा विशालले गोल गर्दा मछिन्द्र २–० ले विजयी भयो ।
जितसँगै मछिन्द्रले ९ खेलमा १९ अंक जोडेको छ । र, उपाधि होड कायम राखेको छ । त्रिभुवन आर्मी क्लबलाई २ अंकले पछि पार्दै मछिन्द्र शीर्ष स्थानमा उक्लिएको हो । दोस्रो स्थानको आर्मीको १७ अंक रहेको छ । थ्री स्टारले ९ खेलमा १४ अंक जोडेको छ । थ्री स्टार लिगको चौंथो स्थानमा रहेको छ ।
त्यसैगरी दशरथ रंगशालामै सम्पन्न पहिलो खेलमा पुलिसले एपीएफ क्लबलाई १–० गोल अन्तरले पराजित गरेको हो । विभागीय डर्बी भिडन्तमा पुलिसलाई जित दिलाउन कप्तान भोला नाथ सिलवालले निर्णायक गोल गरे ।
खेलको १३ औं मिनेटमा भोलाले पेनाल्टीमा गोल गर्दै पुलिसलाई तीन अंक दिलाएका हुन् । रबि पासवानको कर्नरमा भरत साहलाई एपीएफका खेलाडीले डिबक्स भित्र फउल गर्दा पुलिसले पेनाल्टी पाएको थियो । जसमा भोलाले सहजै गोल गरे ।
यस्तै खेल सकिएपछि एपीएफका सुदिप शिख्राकारले रातो कार्ड पाएका थिए । रेफ्री प्रकाश नाथ श्रेष्ठलाई अभद्र व्यवहार गरेपछि उनले रातो कार्ड पाएका हुन् । खेलमा पुलिसका सौजन राई म्यान अफ दि म्याच चुनिए । एपीएफलाई पराजित गरेसँगै पुलिस लिगको पाँचौं स्थानमा उक्लिएको छ । पुलिसले ९ खेलमा १४ अंक जोडेको छ । पराजित एपीएफ ९ खेलमा ५ अंक जोडेर पुछारबाट दोस्रो स्थानमा रहेको छ । यस हारसँगै एपीएफलाई रेलिगेसनको दबाब समेत बढेको छ ।
नवौं चरणको दोस्रो दिनको खेल एन्फा कम्प्लेक्स सातदोबाटोमा हुनेछ । पहिलो खेलमा हिमायनल शेर्पा र सरस्वती युथ तथा दोस्रो खेलमा जावलाखेल र आर्मीबीच प्रतिस्पर्धा हुनेछ ।