काठमाडौं– विश्व संगीतको क्षेत्रको सबैभन्दा गरिमामय ‘ग्रामी अवार्ड–२०२०’मा १८ वर्षीया गायिका बिली आइलिसले नयाँ इतिहास रच्न सफल भएकी छन् । यी अमेरिकन गायिकाले आइतबार सम्पन्न ग्रामी अवार्डमा शीर्ष चार अवार्ड हात पार्दै इतिहास रचेकी हुन् ।
बिलीले उत्कृष्ट नयाँ कलाकार, वर्षको उत्कृष्ट रेकर्ड, वर्षको उत्कृष्ट एल्बम र वर्षको उत्कृष्ट गीतको विधामा अवार्ड हात पारेकी छन् । उनले उत्कृष्ट पप भोकल एल्बमको अवार्डसहित पाँचवटा ग्रामी जित्न सफल भएकी छन् ।
वर्षको उत्कृष्ट एल्बमको अवार्ड हात पार्ने उनी सबैभन्दा कम उमेरकी कलाकार हुन् । यसअघि टेलर स्विफ्टले २० वर्षको उमेरमा ‘फियरलेस’ एल्बमबाट यो अवार्ड जितेकी थिइन् ।
एल्बम अफ द इयर अवार्डका लागि बन आइभर, लाना डेल रे, आरियाना ग्रान्डे, हर, लिल नास एक्स, लिजो र भ्याम्पायर विकएन्डलाई पछि बिलीले ग्रामी जितेकी हुन् । अवार्ड जितेपछि बिलीले छक्क पर्दै भनिन्, ‘के म भन्न सक्छु कि यसका लागि आरियाना हकदार थिइन् ?’
उनी एकैपटक वर्षको उत्कृष्ट रेकर्ड, वर्षको उत्कृष्ट एल्बम, वर्षको उत्कृष्ट गीत र उत्कृष्ट नयाँ कलाकारको अवार्ड हात पर्ने महिला र समग्रमा दोस्रो कलाकार बनिन् । यसअघि सन् १९८१ मा क्रिस्टोफर क्रसले यो सफलता हात पारेका थिए ।