काठमाडौं– नेपाली कांग्रेस पार्टीको १४औँ केन्द्रीय महाधिवेशनको तयारीलाई तीव्र बनाएको छ । कांग्रेसले केन्द्रीय महाधिवेशन २०७७ फागुन ७ देखि १० गतेसम्म काठमाडौंमा गर्ने निर्णय गरेको छ । कांग्रेसको गत ११ पुसमा बसेको केन्द्रीय कार्यसमिति बैठकले गाउँ÷नगर वडा अधिवेशन २०७७ साल ९ मंसिरमा गाउँ÷नगरपालिका अधिवेशन ११ मंसिरमा, प्रदेशसभा क्षेत्रीय अधिवेशन १५ मंसिरमा, प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन १७ मंसिरमा, जिल्ला अधिवेशन २५ मंसिरमा, प्रदेश अधिवेशन १५ पुसमा र केन्द्रीय महाधिवेशन विसं २०७७ फागुन ७ देखि १० गतेसम्म काठमाडौंमा गर्ने निर्णय गरेको थियो । केन्द्रीय समितिको उक्त बैठकले बहुमतका आधारमा उक्त निर्णय गरेपछि पार्टीमा आन्तरिक विवाद उत्पन्न भएको थियो । विवाद समाधानका लागि शीर्ष नेताहरूले सोबारेमा यही १० माघमा सहमति गरेका थिए ।
सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा गत शुक्रबार भएको शीर्ष नेताहरूको बैठकले पार्टीको केन्द्रीय महाधिवेशन तोकिएको मितिमै गर्ने तथा केन्द्रीय महाधिवेशन अघि विभिन्न तहका अधिवेशनसम्बन्धी कार्यतालिका र कार्यविधि परिमार्जनसहित नयाँ प्रस्ताव केन्द्रीय समितिमा पेश गर्ने सहमति गरेको थियो ।
साथै पार्टीको क्रियाशील सदस्यता छानबिन समिति गठन गर्ने, छ महिनाभित्र महाधिवेशन गर्ने गरी नेपाल विद्यार्थी संघको केन्द्रीय तदर्थ समिति गठन गर्नेलगायतका सहमति गरी उक्त सहमति केन्द्रीय समिति बैठकबाट सर्वसम्मतिले पारित गर्ने निर्णय भएको थियो । गत ११ पुसमा केन्द्रीय समिति बैठकले पार्टीको महाधिवेशन, केन्द्रीय विभाग, भ्रातृ संस्थासम्बन्धी निर्णय गरेपछि पार्टी सभापति देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबीच विवाद देखिएको थियो । वरिष्ठ नेता पौडेल पक्षको अनुपस्थितिमा बसेको केन्द्रीय समितिको सो बैठकले पार्टीको केन्द्रीय विभाग २८ बाट बढाएर ४७ बनाउने, नेपाल तरुण दल केन्द्रीय कार्यसमितिको पदावधि ६ महिना थप गर्ने, काँग्रेसको सबै तहका पदाधिकारी तथा सदस्यको पदावधि एक वर्ष थप गर्ने, पार्टीको विभिन्न तहका अधिवेशन गर्ने कार्यतालिका, विधानका केही दफा निलम्बन गर्नेलगायतका निर्णय गरेको थियो ।
गत २६ मंसिरमा केन्द्रीय समिति बैठकमा १४औँ महाधिवेशनको कार्यतालिका पेश गर्नुपर्ने आफ्नो माग पूरा नभएको भन्दै वरिष्ठ नेता पौडेल पक्षका नेताहरू बैठकमा उपस्थित भएनन् ।
प्रकाशित मिति: मंगलबार, माघ १४, २०७६ ०९:३२