नेपालगन्ज–बाँके जिल्लामा कुष्ठरोगको रोकथाम प्रभावकारी हुनसकेको छैन । रोकथामका लागि सरोकारवाला निकायले पहल गर्दै आए पनि नतिजा भने सोचेजस्तो आउन सकेको छैन । बाँकेमा विभिन्न ठाउँबाट मानिसहरू स्थानान्तरण भएर आउने, नियमित उपचार लिन नआउने, रोगबारे जानकारी नराख्ने, रोग लुकाउन खोज्नेजस्ता कारणले कुष्ठरोगका विरामीहरू बढ्दै गएको स्वास्थ्य कार्यालय बाँकेका प्रमुख धिरजङ्ग शाहले बताए ।
बाँकेमा गत वर्ष १२५ जना कुष्ठरोगका बिरामीहरू थिए भने यो आर्थिक वर्षको मंसिर मसान्तसम्म ११४ बिरामीहरूले विभिन्न अस्पतालबाट उपचार लिइरहेका छन् । प्रमुख शाहका अनुसार बिरामीसँग सामान्य लसपसबाट यो रोग सर्दैन । यो रोग लागेको बिरामीहरूलाई पूर्वजन्मको पाप तथा देवीदेवताको श्राप हो भनेर छुवाछूत गर्ने मानसिकता अभैm हट्न नसकेका कारण रोकथाममा चुनौती थपिएको छ । प्रमुख शाहका अनुसार सरोकारवालासँगको समन्वयकारी कार्यक्रमबाट समुदायमा अज्ञानतावश लुकीछिपी रहेका बिरामी पत्ता लगाउन मद्दत पुग्ने, जनचेतना अभिवृद्धि हुने, सक्रिय खोजपड्ताल विधिबाट बिरामीको पहिचान गरी समयमा उपचार गराएर अङ्गभङ्ग हुनबाट जोगाउन सकिन्छ । कुष्ठरोग बिरामीको श्वासप्रश्वासबाट सर्ने एउटा सरुवा रोग हो । रोगीले लामो समयसम्म उपचार नगराएमा शरीर अङ्गभङ्ग हुने सम्भावना हुने गर्दछ । रासस
प्रकाशित मिति: मंगलबार, माघ १४, २०७६ ०९:४४