काठमाडौं– नारायण नगरपालिकाले नगर क्षेत्रभित्र रहेका अवैध संरचना हटाउँदै मुख्य सडक व्यवस्थित बनाउने अभियान सुरु गरेको छ ।
सार्वजनिक जग्गामा निर्माण गरिएका संरचनाहरू हटाउँदै व्यवस्थित पुनः निर्माण अभियान थालेको हो ।
नगरभित्रका सडक चौडा गर्ने, नाली व्यवस्थापन गर्ने तथा सडकपेटी भत्काउन सुरु गरिएको नगरपालिका प्रमुख लोमन शर्माले बताए । उनका अनुसार मालपोत कार्यालयदेखि नारायण मन्दिरसम्मको सडक स्तरोन्नतिका लागि पूर्वाधार विकास कार्यालयले रू एक करोड रकम छुट्टाएको छ ।
“सदरमुकामको बीच सडकलाई स्तरोन्नति गर्न नगरपालिकाले विभिन्न चरणमा रू दुई करोड ६० लाख छुट्टाएर काम गर्ने लक्ष्य लिएको छ”, उनले भने ।
बजार क्षेत्रको व्यवस्थित विकासका लागि नयाँ सडक निर्माण थालिएको वडा नं १ का वडाध्यक्ष शैलेश श्रेष्ठले जानकारी दिए निमार्णको जिम्मेवारी लिएको कम्पनीलाई ताकेता गनुपर्ने सदरमुकामकका बासिन्दालाई खबरदारी पनि गनुपर्ने श्रेष्ठले बताए ।
यहाँ आउने आन्तरीक र बाह्य पर्यटकलाई व्यवस्थित सडक आवश्यक देखिएपछि तीन महिनादेखि नगर उपप्रमुख तप्तकुमारी थापाको संयोजकत्वमा टोली निर्माण गरिएको थियो ।
पहिलो चरणमा देवकोटा चौक, डेकेन्द्र चौकलगायत सदरमुकामका व्यस्त चोकहरूको व्यवस्थापन गर्ने र दोस्रो चरणमा सडकपेटी र घरटहरा भत्काएसँगै सडक पुनः पिच गर्ने नगरपालिकाले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय दैलेखसँगको समन्वयमा जिल्ला समन्वय समितिको भवन, बालमन्दिरको भवन भत्काउने काम सुरु गरिएको नगरपालिका उपप्रमुख थापाले बताए ।
सदरमुकाममा वर्षातमा हिलो र हिउँदमा धुलोको समस्या अब हट्ने स्थानीयले अपेक्षा गरेका छन्
प्रकाशित मिति: शनिबार, माघ २१, २०७९ १६:४०